भोटेकोशी नदीमा आएको बाढीबाट पूर्ण रूपमा क्षति भएको देवीघाट शाखाको सेवा निरन्तरता दिन सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोटको बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। विदुर नगरपालिका–२ मा रहेको उक्त शाखा आजदेखि सञ्चालनमा आएको हो।
बैंकका अनुसार बट्टार शाखा यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट करिब ७ किलोमिटरको दूरीमा छ। स्थानीय सेवाग्राहीलाई सहज, सुलभ र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। बट्टारमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे। उनले देवीघाट शाखा बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएपछि त्यस क्षेत्रका ग्राहकलाई सेवा उपलब्ध गराउन बट्टार शाखा सञ्चालनमा ल्याइएको बताए। ग्राहकलाई अझ उच्चस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको उनको भनाइ थियो।
पोखरेलले कठिन परिस्थितिमा पनि धैर्य र समर्पणका साथ शाखा सञ्चालनमा ल्याउन भूमिका खेलेको भन्दै कर्मचारीहरूको प्रशंसा गरे। बाढीबाट देवीघाट शाखा पूर्ण रूपमा क्षतिग्रस्त भए पनि त्यहाँ कार्यरत कर्मचारीहरू भने सुरक्षित रहन सफल भएका थिए। बैंकका अनुसार बट्टार शाखाबाट व्यक्तिगत ग्राहकका लागि आवश्यक सम्पूर्ण खुद्रा बैंकिङ (रिटेल बैंकिङ) सेवा उपलब्ध गराइनेछ। साथै, साना तथा कर्पोरेट व्यवसायीलाई वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य बैंकले राखेको छ।
निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको छ। शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगको परीक्षण, शरीरको वस्तुमान सूचकाङ्क (बीएमआई) परीक्षण र मधुमेह परीक्षणलगायत सेवा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ।
बागमती प्रदेशमा बैंकका ५६ शाखा सञ्चालनमा छन्। बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८२ हजार ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।
बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको पनि जनाएको छ। साथै, बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको उल्लेख गरेको छ।







प्रतिक्रिया लेख्नुहोस्