गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले स्थापनाको १९औँ वर्ष प्रवेशको अवसर पारेर आज बुधबार काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनबाट नयाँ शाखाको सेवा सुरु गरेको हो।
बैंकका अध्यक्ष दिलीप प्रताप खाँणको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखाको उद्घाटन गरेका हुन्। नयाँ शाखाबाट ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
बैंकले आम नागरिकको बैंकिङ सेवामा पहुँच विस्तार, वित्तीय समावेशीकरण सुदृढीकरण तथा सहज र विश्वसनीय वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्जाल विस्तार गर्दै आएको छ। गरिमा विकास बैंकले शाखा विस्तारलाई भौगोलिक उपस्थितिमा वृद्धि गर्ने माध्यमका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने आधारका रूपमा लिएको जनाएको छ।
बालुवाटारमा नयाँ शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका व्यक्तिगत तथा संस्थागत ग्राहकलाई बैंकिङ सेवा लिन थप सहज हुने र स्थानीय आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने बैंकको अपेक्षा छ।
बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाका रूपमा इजाजतपत्र प्राप्त गरेको छ। बैंकका अनुसार सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।







प्रतिक्रिया लेख्नुहोस्