२०८३ मंसिर २, मङ्लबार

मुक्तिनाथ विकास बैंकको नयाँ सेवा : अब घरमै बसेर ऋण आवेदनको अवस्था हेर्न सकिने

मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकलाई डिजिटल माध्यमबाटै ऋण आवेदनको अवस्था तथा प्रगति जानकारी लिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले ग्राहकलाई छिटो, सहज, पारदर्शी तथा प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ‘Loan Application Tracking’ सेवा सुरु गरेको हो। यस सेवामार्फत ग्राहकले बैंकमा पेस गरेको ऋण आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी अनलाइनबाटै प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार ग्राहकले ऋण आवेदनको अवस्था, ऋण मूल्यांकन तथा स्वीकृति प्रक्रियाको प्रगति र आवेदनसँग सम्बन्धित पछिल्ला अपडेटहरू जुनसुकै समय र स्थानबाट हेर्न सक्नेछन्। यसका लागि बैंकको आधिकारिक वेबसाइटमा गएर आफ्नो मोबाइल नम्बर र Loan Application Tracking ID प्रयोग गर्नुपर्नेछ।

यसअघि ऋण आवेदनको प्रगति बुझ्न ग्राहकले बैंकको शाखा कार्यालयमा उपस्थित हुनुपर्ने वा फोनमार्फत जानकारी लिनुपर्ने अवस्था थियो। नयाँ सेवाको सुरुवातसँगै ग्राहकले घरमै बसेर डिजिटल माध्यमबाटै आवेदनको अवस्था अनुगमन गर्न सक्ने भएका छन्। यसले ग्राहकको समय बचत गर्नुका साथै सेवा प्रक्रियामा पारदर्शिता र सूचनामा सहज पहुँच बढाउने बैंकको अपेक्षा छ।

स्वीकृतिबारे एसएमएसबाटै जानकारी

बैंकले ऋण आवेदन स्वीकृत भएको अवस्थामा सम्बन्धित ग्राहकलाई एसएमएस नोटिफिकेसनमार्फत तत्काल जानकारी उपलब्ध गराउने व्यवस्था पनि गरेको छ।

मुक्तिनाथ विकास बैंकले विगत केही वर्षदेखि प्रविधिमा आधारित सेवा विस्तारलाई रणनीतिक प्राथमिकतामा राख्दै आएको छ। ग्राहकको बदलिँदो आवश्यकता, वित्तीय प्रविधिको तीव्र विकास तथा आधुनिक बैंकिङ अभ्यासलाई आत्मसात् गर्दै बैंकले आफ्ना सेवा तथा प्रक्रियालाई क्रमशः डिजिटल, तथ्यांकमा आधारित, छिटो र ग्राहककेन्द्रित बनाउँदै लगेको जनाएको छ।

बैंकको मूल मन्त्र ‘जनता बैंकमा होइन, बैंक जनता मा जानुपर्छ’ लाई व्यवहारमा रूपान्तरण गर्दै डिजिटल माध्यमको अधिकतम उपयोगमार्फत ग्राहकलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने कामलाई निरन्तरता दिइएको बैंकले जनाएको छ।

‘Loan Application Tracking’ सेवा पनि बैंकको यही डिजिटल यात्राको महत्वपूर्ण उपलब्धि भएको बैंकको भनाइ छ। यसले ग्राहकलाई ‘Right Information at the Right Time’ उपलब्ध गराउने प्रतिबद्धतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

आगामी दिनमा पनि अत्याधुनिक प्रविधिको प्रयोगमार्फत सेवा तथा प्रक्रियालाई थप सशक्त, सहज, पारदर्शी र ग्राहकमैत्री बनाउँदै नयाँ डिजिटल सेवा तथा सुविधाको विकास र विस्तारलाई निरन्तरता दिने बैंकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्