२०८३ बैशाख १२, शनिबार

फेरि ५० अंकले झर्‍यो सेयरबजार

सेयरबजार आज फेरि दोहोरो अंकले झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ५०.१३ अंकले घटेर २९२६.८९ विन्दुमा रोकिएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक आज ८.९० अंकले घटेको छ। आजको कारोबारमा २ सय ३० कम्पनी सामेल भएका छन्। ती कम्पनीको १ करोड ८१ लाख कित्ता सेयर बिक्री भएको छ।

साताको अन्तिम कारोबार दिन एक लाख ५ हजार पटकको किनबेचपछि ९ अर्ब ५० करोड ५९ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जानकारी दिएको छ । आज सबै उपसूचकहरु राताम्य छन्। सबैभन्दा बढी विकास बैंक, निर्जीवन बीमा र जीवन बीमा सूचक झरेका छन्। आज दुईवटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत वा सोही हाराहारीमा आम्दानी गरेका छन्। नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले क्रमशः ३०.९० र ४५.७० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।

यसबाहेक चन्द्रागिरि हिल्सका लगानीकर्ताको हातमा पनि प्रतिसेयर ७९ रुपैयाँ परेको छ। खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले प्रतिसेयर १९ रुपैयाँ कमाउँदा डिप्रोस्क लघुवित्तका सेयरधनीको हातमा ७४ रुपैयाँ परेको नेप्सेले जानकारी दिएको छ । आज गुमाउने लगानीकर्ताले ६.८७ प्रतिशतसम्म अधिकतम घाटा व्यहोरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्