साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । बिहीबार बजार परिसूचक नेप्से ३२.३९ अंकले गिरावट भएर २७६९.१३ अंकमा बन्द भएको छ । आज नेप्सेसँगै सबै उपसूचकमा पनि गिरावट भएको छ । हाइड्रोपावर उपसूचकमा सर्वाधिक २.८४ प्रतिशतको गिरावट हुँदा विकास बैंक उपसूचक २.०२ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.२ प्रतिशतले घटेको छ ।
बिहीबार बजार परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको छ । बुधबार ६ अर्ब ७० करोडको कारोबार भएको बजारमा आज कारोबार रकम ६ अर्ब २७ करोडमा झरेको हो । आज नेप्सेमा ९८ लाख ६२ हजार ९४० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजारको कारोबार भएको छ ।
नेप्सेमा आज कारोबार रकममा नेपाल दुरसञ्चार कम्पनीले लिड गरेको छ । कम्पनीको ६० करोडको कारोबार हुँदा महालक्ष्मी विकास बैंकको ५७ करोड, अपर तामोकोशीको ३९ करोड ५० लाख, नेशनल हाइड्रोपावरको १९ करोड र छिमेक लघुवित्तको १७ करोडको कारोबार भएको छ ।आज नेप्सेमा कुल १९७ कम्पनीको सेयर कारोबारमा आएकोमा १६० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ भने २२ कम्पनीको सेयरमूल्य बढेको छ ।
छ कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो । आज कारोबार भएकोमध्ये मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.५२ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सको सेयरमूल्य ६.४९ प्रतिशत र मञ्जुश्री फाइनान्सको सेयरमूल्य ३.५१ प्रतिशतले बढेको छ ।
यता, मैलुङ खोल जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक ५.०३ प्रतिशतले गिरावट हुँदा शिवश्री हाइड्रोपावरको ४.५२ प्रतिशत, माउन्टेन इनर्जीको ४.४९ प्रतिशत, हिमालयन पावर पार्टनरको ४.४७ प्रतिशत र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य ४.४५ प्रतिशतले घटेको छ ।






प्रतिक्रिया लेख्नुहोस्