२०८१ जेष्ठ ९, बुधबार

दसैंपछि मात्रै सेयर बजारबाट लगानीकर्ताले गुमाए ५८ अर्ब

काठमाडौं । बजार चलायमान बनाउन राष्ट्र बैंकले सेयर कर्जाको सीमा राष्ट्र बैंकले बढाए पनि त्यसले सकारात्मक प्रभाव पार्न सकेको छैन । लगानीकर्तामा थप लगानी गर्ने मनोबल सिर्जना हुन नसक्दा दसैंयता बजार ४० अंकले घटेको छ । यो अवधिका जम्मा चार दिनमा मात्रै लगानीकर्ताले ५८ अर्ब गुमाएका छन् ।

दसैंअघि नेप्से परिसूचक १८ सय ९३ अंकमा थियो । दसैंपछिका ४ कारोबार दिनमा ३ दिन बजार घट्यो भने एक दिनमात्रै ३ अंकले बढ्यो । दसैंअघि दैनिक डेढदेखि २ अर्बको हाराहारीमा कारोबार हुने गरेकामा दसैंयताका कुनै पनि दिन कारोबार १ अर्ब पनि पुग्न सकेको छैन । बुधबार भएको कारोबारमा बजार ५ दशमलव आठ तीन अंकले घटेर नेप्सेसूचक १८ सय ५८ अंकमा सीमित भयो । राष्ट्र बैंकका प्रयासका बाबजुद पनि लगानीकर्ता अझै आश्वस्त हुन सकेका छैनन् । बरु, राष्ट्रबैंक अझै सेयरबजारप्रति नकारात्मक रहेको लगानीकर्तामा भय छ ।

बजारमा ५ खर्ब बराबरको तरलता हुँदा पनि लगानीकर्ताले सेयर किन्ने आाट गर्न सकेका छैनन् । बैकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जाको रुपमा लगानी गर्न सक्छन् । तर अहिले कर्जा निक्षेप अनुपात ८१ प्रतिशतमा छ । बैंकहरुले घटाइरहेको निक्षेपको ब्याजले अब कर्जाको ब्याज पनि सस्तिादै जाने देखिएको छ । आर्थिक मन्दीका कारण कम्पनीहरुको नाफामा आएको कमीले प्रतिफल प्राप्त गर्न नसकिने लगानीकर्ताको बुझाई छ ।

मन्दीका कारण अधिकांश व्यवसायीले राम्रो आम्दानी गर्न सकेका छैनन् भने त्यसको प्रत्यक्ष असर सेयरबजारमा समेत परेको छ । केही व्यवसायी त पलायन नै भइसकेका छन् । यसले गर्दा बजारमा सेयर खरिद गर्नेहरु बढ्न सकेका छैनन् ।

प्रतिक्रिया लेख्नुहोस्