एनएमबी बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच दिगो तथा जलवायुमैत्री विकासलाई प्रवर्द्धन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार नेपालमा हरित वित्तीय सेवा (ग्रीन फाइनान्सिङ) लाई प्रभावकारी बनाउन दुवै संस्थाले सहकार्य गर्नेछन् । यसका लागि वैज्ञानिक अनुसन्धान र प्राविधिक ज्ञानलाई वित्तीय लगानीका अवसरसँग जोड्ने लक्ष्य राखिएको छ ।
सहकार्यअन्तर्गत इसिमोडको अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकाससम्बन्धी अनुभवलाई एनएमबी बैंकको वित्तीय विशेषज्ञतासँग जोडिनेछ । यसबाट वातावरण संरक्षण, जलवायु परिवर्तनका असर कम गर्ने तथा स्थानीय समुदायलाई जलवायुजन्य जोखिम सामना गर्न सक्षम बनाउने परियोजना पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एनएमबी बैंकले यसअघि पनि हरित तथा दिगो बैंकिङलाई प्राथमिकता दिँदै वातावरणमैत्री वित्तीय अभ्यासलाई अघि बढाउँदै आएको छ ।बैंक र इसिमोडबीचको सहकार्यले विज्ञान, वित्तीय क्षेत्र र दिगो विकासबीचको सम्बन्ध थप मजबुत बनाउँदै नेपालमा दीर्घकालीन तथा वातावरणमैत्री आर्थिक विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ ।







प्रतिक्रिया लेख्नुहोस्