२०८३ असार २९, सोमवार

विशेष अदालतबाट सफाइ पाएपछि नेपाल टेलिकमको नेतृत्वमा संगिता पहाडी अर्यालको पुनरागमन

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की प्रबन्ध निर्देशक संगिता पहाडी अर्याल पुनः आफ्नो जिम्मेवारीमा फर्किएकी छन्। विशेष अदालतबाट आफूविरुद्ध दायर मुद्दामा सफाइ पाएपछि सरकारले उनको निलम्बन फुकुवा गर्दै पुनर्बहाली गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असार २६ गते गरेको निर्णयअनुसार अर्याल पुनः प्रबन्ध निर्देशकको जिम्मेवारीमा फर्किएकी हुन्। पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै अर्यालले संस्थाको हितलाई सर्वोपरि राखी निष्पक्षता, पारदर्शिता र निष्ठाका साथ काम गर्न सबै कर्मचारीलाई आग्रह गरिन्।

उनले आफूविरुद्ध लगाइएका आरोप अन्ततः अदालतबाट असत्य सावित भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थाको नियमित कामकारबाहीलाई निरन्तरता दिन योगदान पुर्‍याउने सम्पूर्ण कर्मचारी तथा व्यवस्थापन टोलीप्रति आभार व्यक्त गरिन्।

अर्यालले आगामी दिनमा नेपाल टेलिकमको सेवा प्रवाहलाई थप प्रभावकारी, ग्राहकमैत्री र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरिन्। कम्पनीभित्र आवश्यक संस्थागत सुधारका कार्यक्रमलाई तीव्रता दिँदै सेवा विस्तार, प्रविधि आधुनिकीकरण र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखिने उनले बताइन्।

उनले सरकारको नीति तथा मार्गदर्शनअनुसार नेपाल टेलिकमको विश्वसनीयता, प्रतिस्पर्धात्मक क्षमता र बजार छविलाई थप सुदृढ बनाउँदै संस्थालाई अझ प्रभावकारी र परिणाममुखी बनाउने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता समेत जनाइन्।

प्रतिक्रिया लेख्नुहोस्