झण्डै तीन महिनापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दैनिक सेयर कारोबार ८ अर्ब रुपैयाँ नाघेको छ। मंगलबार कुल ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।
नेप्सेका अनुसार गत वैशाख ३ गते ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएपछि पहिलो पटक कारोबार रकम ८ अर्ब नाघेको हो। त्यसयता दैनिक कारोबार रकम क्रमशः घट्दै केही दिन २ अर्ब रुपैयाँको हाराहारीसम्म झरेको थियो। पछिल्ला तीन कारोबार दिन भने कारोबारमा निरन्तर सुधार देखिएको छ। ती दिन क्रमशः ४ अर्ब ६१ करोड, ६ अर्ब ८६ करोड, ७ अर्ब ४६ करोड र मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
कारोबार रकमसँगै बजार परिसूचक पनि बढेको छ। मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २,५७६.२९ विन्दुमा पुगेको छ। कारोबार सुरु भएको करिब सवा घण्टापछि उकालो लागेको बजार अन्त्यसम्म हरियो रहेर बन्द भएको हो।
यस दिन १६४ कम्पनीको सेयर मूल्य बढ्दा १०१ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। कारोबारका क्रममा केही कम्पनीको सेयर मूल्य अधिकतम १०.२२ प्रतिशतसम्म बढ्दा केहीको ९.६८ प्रतिशतसम्म घटेको छ।
समूहगत परिसूचकतर्फ उत्पादन तथा प्रशोधन समूह बाहेक सबै उपसमूह हरियो रहे।
यसैबीच, मंगलबार केही लगानीकर्ताले बजारमा आएको गिरावट र नियामकीय विषयप्रति असन्तुष्टि जनाउँदै नेपाल धितोपत्र बोर्ड (सेबोन) परिसरमा पुगेर घेराउ गरेका छन्।







प्रतिक्रिया लेख्नुहोस्