रसुवामा आएको बाढीका कारण भौतिक संरचना तथा उपकरणमा क्षति पुगेपछि कृषि विकास बैंक लिमिटेडको त्रिशुली शाखाले नुवाकोटको बट्टारबाट अस्थायी रूपमा बैंकिङ सेवा सुरु गरेको छ।
बाढी र लेदोसहितको बहावका कारण त्रिशुली शाखाको भौतिक पूर्वाधार, उपकरण तथा सञ्चार प्रणालीमा क्षति पुगेपछि साविक स्थानबाट सेवा निरन्तरता दिन नसकिएको बैंकले जनाएको छ। सेवाग्राहीलाई बैंकिङ सुविधाबाट वञ्चित हुन नदिन बट्टारमा अस्थायी कार्यालय स्थापना गरी नियमित कारोबार सञ्चालन गरिएको हो।
बट्टारस्थित अस्थायी कार्यालयबाट हाल निक्षेप संकलन, नगद भुक्तानी, रेमिट्यान्स तथा अन्य अत्यावश्यक बैंकिङ सेवा सञ्चालन भइरहेका छन्। बैंकका अनुसार ग्राहकले नियमित रूपमा आवश्यक बैंकिङ कारोबार गर्न सक्नेछन्। बाढीका कारण शाखाको पूर्वाधारमा क्षति पुगे पनि सेवाग्राहीको दैनिक कारोबार प्रभावित नहोस् भन्ने उद्देश्यले तत्काल वैकल्पिक स्थानबाट सेवा सञ्चालन गरिएको बैंकले जनाएको छ।
बैंक व्यवस्थापनले त्रिशुली शाखाका लागि उपयुक्त स्थान छनोट तथा आवश्यक तयारीको काम तीव्र रूपमा अघि बढाइएको जनाएको छ। आवश्यक प्रक्रिया पूरा भएपछि नयाँ उपयुक्त स्थानबाट शाखाको स्थायी सेवा सञ्चालन गर्ने तयारी बैंकको छ।
बाढीका कारण शाखा स्थानान्तरण गर्नुपरेपछि सेवाग्राही तथा सरोकारवालालाई परेको असुविधाप्रति बैंकले क्षमा माग्दै विषम परिस्थितिमा ग्राहकले देखाएको निरन्तर सहयोग र विश्वासप्रति आभार व्यक्त गरेको छ।







प्रतिक्रिया लेख्नुहोस्