२०८३ अशोज ७, बुधबार

फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो?

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म मूल्य फेरि बढाएको छ। संघले एक्सल र ठूलो अण्डाको मूल्य बढाउँदै नयाँ समर्थन मूल्य निर्धारण गरेको हो।

संघको असोज ६ गते काठमाडौंमा बसेको भौतिक तथा भर्चुअल बैठकले अण्डा उत्पादकहरूको राय, परामर्श तथा सिफारिसका आधारमा बुधबारदेखि लागू हुने गरी नयाँ मूल्य तोकेको जनाएको छ। नयाँ मूल्यअनुसार एक्सल अण्डाको प्रतिक्रेट ६१५ रुपैयाँ र ठूलो अण्डाको प्रतिक्रेट ६०० रुपैयाँ कायम गरिएको छ।

यसअघि भदौ १९ गते निर्धारण गरिएको समर्थन मूल्यअनुसार एक्सल अण्डाको प्रतिक्रेट ६०५ रुपैयाँ र ठूलो अण्डाको प्रतिक्रेट ५९० रुपैयाँ थियो। नयाँ मूल्यअनुसार एक्सल अण्डा प्रतिक्रेट १० रुपैयाँ र ठूलो अण्डा १० रुपैयाँले महँगिएको हो।

संघले मिडियम र सानो अण्डाको फार्म मूल्य भने यथावत् राखेको छ। मिडियम अण्डाको प्रतिक्रेट ५५० रुपैयाँ कायम छ भने सानो अण्डाको समर्थन मूल्य ३ हजार २०० रुपैयाँ प्रति पेटी तोकिएको छ। यस्तै, उपभोक्ता मूल्यमा पनि परिवर्तन गरिएको छैन। संघले अण्डाको मूल्य प्रतिगोटा २५ रुपैयाँ र दुई गोटाको ४५ रुपैयाँ कायम गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्