साना तथा मझौला व्यवसायीको वित्तीय ज्ञान तथा व्यवसाय सञ्चालन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच सम्झौता भएको छ। सम्झौताअनुसार सातै प्रदेशमा साना तथा मझौला व्यवसायीलाई लक्षित गरी व्यवसायिक क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिनेछ। तालिममा व्यवसायीको वित्तीय ज्ञान, वित्तीय विवरण तयारी तथा वित्तीय अनुपालना (financial compliance) लगायतका विषय समेटिनेछन्।
महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) विनय दाहाल र महासंघका महानिर्देशक डा. गोपाल तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यलगायत पदाधिकारी तथा परिषद् सदस्यहरूको उपस्थिति थियो।
महासंघका वरिष्ठ उपाध्यक्ष वैद्यले सम्झौतापछि सातै प्रदेशमा क्रमिक रूपमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने बताए। यस्ता कार्यक्रमले व्यवसायीको वित्तीय ज्ञान बढाउनुका साथै वित्तीय अनुशासन तथा अनुपालनमा समेत सुधार ल्याउने उनको भनाइ छ।
बैंकका डीसीईओ दाहालले व्यवसायीलाई आफ्ना वित्तीय विवरण तयार गर्न तथा त्यससँग सम्बन्धित वित्तीय अनुपालना कायम गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिने बताए। तालिमका लागि आवश्यक प्राविधिक सहयोग बैंकले उपलब्ध गराउने उनले जानकारी दिए।
साना तथा मझौला व्यवसायमा वित्तीय विवरण व्यवस्थापन, कर तथा नियामकीय अनुपालना र वित्तीय संस्थासँगको सम्बन्ध महत्वपूर्ण हुने भएकाले यस्ता क्षेत्रमा व्यवसायीको क्षमता अभिवृद्धिले व्यवसायको औपचारिकीकरण र दीर्घकालीन वित्तीय पहुँचमा समेत सहयोग पुर्याउन सक्ने देखिन्छ। कामना सेवा विकास बैंकले ‘फ्युचर रेडी’ (Future Ready) अवधारणाअन्तर्गत सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री तथा दिगो बैंकिङ अभ्यासमा जोड दिँदै आएको जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्