२०८३ अशोज २१, बुधबार

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै इटहरीका दम्पत्ति पक्राउ

पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन् । पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका परियार र अन्सारीलाई प्रहरी वृत्त गौशाला पठाइएको छ ।

पशुपति मन्दिरमा गैरहिन्दु प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उनीहरुलाई पक्राउ गरिएको हो । अन्सारी र परियारले प्रेम विवाह गरेका थिए । प्रेम विवाह गरेका उनीहरु केही दिनअघि पशुपतिनाथ मन्दिरमा गएर भिडियो बनाएका थिए ।

उनीहरुले बनाएको भिडियोमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिन्छ । सोही टोपीका आधारमा सांसद खुस्वु ओलीले सामाजिक सञ्जालमा प्रश्न गरेकी थिइन् । सांसदले नै प्रश्न उठाएपछि कोषले उनीहरुविरुद्ध जाहेरी दिएको हो । घर आएका उनीहरु दुवैलाई पक्राउ गरिएको छ ।

अन्सारी दम्पत्तिले हिजै एक भिडिओमार्फत स्पष्टीकरण दिँदै आफूहरु मन्दिरभित्र पस्न नपाएको बताएका थिए । मन्दिरको मुल ढोकाबाट भित्र छिरे तापनि आफूहरुलाई भर्याङबाट फर्काइएको उनीहरुको भनाइ छ । प्रियंकाले पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र भएको र श्रीमानलाई पनि देखाउन लगेको उल्लेख गरेकी छन् । अन्सारी इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन् । उनी इटहरी–८ का स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया लेख्नुहोस्