२०८३ अशोज २९, बिहिबार

साहित्य प्रवर्द्धनमा कृषि विकास बैंकको निरन्तरता, ‘समष्टि’ को १२२औँ अङ्क विमोचन

कृषि विकास बैंक लिमिटेडको साहित्यिक पत्रिका ‘समष्टि’ को १२२औँ अङ्क विमोचन गरिएको छ। बैंकको मुख्य कार्यालयस्थित सभाहलमा आयोजित समारोहमा बैंक सञ्चालक समिति सदस्य विनोदकुमार गुरागाईले पत्रिकाको विमोचन गरेका हुन्। बैंक सञ्चालक समिति सदस्य गुरागाईको प्रमुख आतिथ्यता तथा ‘समष्टि’ का संरक्षक एवं बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि गुरागाईले साहित्यप्रेमी मानिसको चरित्र कोमल र असल हुने धारणा व्यक्त गर्दै सबै मानिस साहित्यप्रेमी हुनुपर्ने बताए। उनले ‘समष्टि’ ले नेपाली साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै यसको निरन्तर प्रकाशनका लागि शुभकामना व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका ‘समष्टि’ का संरक्षक गुरुङले आफू साहित्यको साधक नभए पनि कला, सङ्गीत र साहित्यमा रुचि रहेको बताए। उनले आर्थिक वर्ष २०८३/८४ देखि ‘समष्टि’ लाई चौमासिक प्रकाशनका रूपमा अघि बढाइएको र आगामी दिनमा द्वैमासिक बनाउने योजना रहेको जानकारी दिए।

गुरुङले वि.सं. १९६० को दशकमा लमजुङ क्षेत्रमा प्रचलित ‘ओराली जाने’ भनाइसँग सम्बन्धित कविता पनि सुनाएका थिए। उनले पत्रिकाको प्रकाशनमा मेहनत गर्ने सम्पादन समूहका सदस्यलाई धन्यवाद दिँदै बडादसैँ, तिहार, छठ तथा नेपाल संवत्लगायतका चाडपर्वको शुभकामना व्यक्त गरे।

कार्यक्रममा ‘समष्टि’ का पूर्वसम्पादक एवं मदन पुरस्कार प्राप्त वरिष्ठ साहित्यकार कृष्ण धरावासीले शुभकामना मन्तव्य राख्दै १६ वर्षअघि आफूले पनि उक्त पत्रिकाको सम्पादकका रूपमा काम गरेको स्मरण गरे।

पत्रिकाको सम्पादन समूहका अध्यक्ष एवं बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तित्वहरूलाई स्वागत गरेका थिए। कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य रीता सुवेदी, ‘समष्टि’ का पूर्वसम्पादन समूहका सदस्य तथा कथाकार दिलीप शाह, पूर्वसम्पादक एवं कवि मोहिनी मन, बैंकका उपमहाप्रबन्धक, विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम ‘समष्टि’ का सम्पादक एवं बैंकका शाखा प्रमुख शान्तिराम भट्टराईले सञ्चालन गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्