बेनी–जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको स्याउ समयमै बजार पुर्याउन नसकिएपछि किसान तथा व्यापारी समस्यामा परेका छन्। स्याउ खपत हुने मुख्य सिजनमा सडक अवरुद्ध हुँदा जिल्लामै रोकिएको स्याउ दसैँको अन्तिम समयमा एकैपटक बजारमा पुग्दा बिक्रीमा समस्या भएको हो।
केही महिनादेखि पोखरा, काठमाडौंलगायत सहरका फलफूल व्यापारीका गोदाममा मुस्ताङको स्याउ थुप्रिएको छ। सडकमार्ग अवरुद्ध हुँदा समयमै बजार पठाउन नसकिएको स्याउ सडक सञ्चालनमा आएपछि एकैसाथ बजारमा पुर्याउँदा मागअनुसार बिक्री हुन नसकेको व्यापारीहरूको भनाइ छ।
मुस्ताङमा स्याउको व्यापार गर्दै आएका धादिङको खनियाबाँस गाउँपालिका–३ का व्यापारी राजु तामाङले यसपटक स्याउ बिक्री नहुँदा लगानी डुब्ने चिन्ता बढेको बताए। उनका अनुसार एक करोड रुपैयाँभन्दा बढीको स्याउ खरिद गरिएको भए पनि हालसम्म आधा मात्रै बिक्री भएको छ।
“स्याउ किसानलाई पैसा बुझाइयो, यता स्याउ नबिकेर तनावमा परेको छु,” तामाङले भने, “खै लगानी कसरी उठाउने हो, दसैँ पनि स्याउ बिक्री नहुँदा राम्ररी मनाउन सकिएन।”
यस वर्ष मुस्ताङमा स्याउ उत्पादन राम्रो भए पनि सडक अवरोधका कारण बजारीकरणमा समस्या देखिएको छ। जिल्लामा यस वर्ष १० हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। तर, बजारमा एकैपटक ठूलो परिमाणमा स्याउ पुग्दा गोदाम तथा फलफूल मण्डी भरिएका छन्, जसले बिक्री र मूल्य दुवैमा असर पारेको छ।
चिम्ले अर्चार्ड कृषि फार्मका सञ्चालक गुरुङका अनुसार यस वर्ष ७०० मेट्रिकटन स्याउ उत्पादन गर्ने लक्ष्य राखिएको थियो। असोजभित्रै बिक्री भइसक्नुपर्ने स्याउ दसैँसम्म आधा मात्रै बिक्री भएको उनले बताए।
“दसैँसम्म आधा स्याउ मात्रै बिक्री भएको छ, ४० प्रतिशत स्याउ टिप्न बाँकी छ,” उनले भने, “स्याउ खपत हुन नसक्दा बढी पाकेर बोटबाटै झरेर नष्ट भइरहेको छ। करिब ४०० टन स्याउ कोल्ड स्टोरमा राखेको छु।”
गत वर्ष स्याउको बिक्री तथा व्यवस्थापन राम्रो रहे पनि यस वर्ष बिक्रीको मुख्य सिजन सकिन लाग्दा किसान थप चिन्तित बनेका छन्। जिल्लास्तरीय निर्णयअनुसार छिटो पाक्ने स्याउ भदौ १२ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि टिप्न सुरु गरिएको थियो। हरितालिका तीजका अवसरमा करिब २० प्रतिशत स्याउ बजार पठाउन सकिएको थियो।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार हालसम्म जिल्लामा उत्पादित करिब ५० प्रतिशत स्याउ पोखरा, काठमाडौंलगायत सहरमा निकासी भएको छ। कार्यालय प्रमुख डा.लालमणि अर्यालले सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बजारीकरणमा समस्या परेको बताए।
अहिले पनि बगैँचामा करिब ४० प्रतिशत स्याउ टिप्न बाँकी रहेको छ। समयमै बजार व्यवस्थापन हुन नसके थप स्याउ बोटमै पाकेर झर्ने र किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने जोखिम बढेको छ।







प्रतिक्रिया लेख्नुहोस्