त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शिक्षक तथा कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धिका लागि १ करोड २५ लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ ।
त्रिवि समन्वय महाशाखाद्वारा आयोजित जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक कार्यक्रम तथा बजेट पारित गर्दै उक्त रकम स्वीकृत गरेको हो ।
बैठकले विश्वविद्यालयका ७७५ शिक्षक तथा कर्मचारीलाई विभिन्न नौ शीर्षकमा सेवाकालीन तथा सेवा प्रवेश तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनको सभाकक्षमा शिक्षाध्यक्ष प्रा.डा. अञ्जना सिंहको अध्यक्षतामा बसेको बैठकले विश्वविद्यालयमा प्रवेश गर्ने शिक्षक तथा कर्मचारीलाई संगठनात्मक संरचना, कार्यप्रणाली, आचारसंहिता, अधिकार र कर्तव्यबारे अभिमुखीकरण गर्ने कार्यक्रमसमेत तय गरेको छ ।
त्यस्तै, प्रशासनिक कर्मचारीका लागि आवश्यकता पहिचानमा आधारित क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने तथा नेतृत्व तहका पदाधिकारी, क्याम्पस प्रमुख, विभागीय प्रमुख र प्रशासनिक नेतृत्वको व्यवस्थापकीय क्षमता विकास गर्ने निर्णय भएको छ ।
बैठकले कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि प्रणाली तथा कार्यालय सञ्चालनसम्बन्धी दक्षता अभिवृद्धिलाई पनि तालिमका प्राथमिकतामा राखेको छ । बैठकमा विभिन्न अध्ययन संस्थानका डीन, क्याम्पस प्रमुख तथा महाशाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया लेख्नुहोस्