२०८१ कार्तिक २९, बिहिबार

गोली प्रहारबाट मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको अन्त्येष्टि

गोली प्रहारबाट मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको दाहसंस्कार गरिएको छ । पसाहा खोलमा मृतक सर्राफको हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो । विद्यालय सञ्चालक समेत रहेका सर्राफलाई एनप्याब्ससनले संस्थाको झन्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेको थियो । मृतक सर्राफको २ छोरा, श्रीमती छन् ।

सर्राफलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न ठुलो सङ्ख्यामा शुभचिन्तकहरू कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित रहेको निजी निवासमा पुगेका थिए । प्रहरीले प्रिन्सिपल सर्राफको गोली हानी हत्या गरेको आरोपमा १० जनालाई पक्राउ गरेको छ । बारा कलैया उपमहानगरपालिका–६, का रुपेसमाथि सोमबार १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो । उनीमाथि अन्धाधुन्द गोली प्रहार भएको थियो ।

पहिले उनको घाँटीमा दुईवटा गोली लागेको थियो । गोली लागेर घाइते भएका उनको अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार उनीमाथि पाँचवटा गोली प्रहार भएको थियो । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मधेश प्रदेशले विद्यालय सञ्चालक तथा प्रधानाध्यापक (प्रिन्सिपल) रुपेश सर्राफको हत्याविरुद्व आज विद्यालयहरू बन्द गर्ने भएको छ ।

नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ति जारी गर्दै प्रिन्सिपल सर्राफको हत्याको विरोधमा नेशनल प्याब्सनअन्तर्गत प्रदेशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको जानकारी दिएका हुन् । नेशनल प्याब्सनले सर्राफको हत्याको कडा निन्दा र भर्त्सना गरेको छ । हत्यामा संलग्न दोषीलाई यथाशिघ्र पक्राउ पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसँग नेशनल प्याब्सनले मागसमेत गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्