नेपालमा पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधवार भने १० हजार २५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १८ हजार ७८ ओटा नमूनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ओटा नमूनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिएकामध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका रहेका छन् । मन्त्रालयले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीरकुमार अधिकारीले उपत्यकाका तीन ओटा जिल्लामा उक्त संख्यामा संक्रमित फेला परेको बताएका छन् ।
उनका अनुसार काठमाडौंमा ४ हजार ६६६, ललितपुरमा १ हजार १९ र भक्तपुरमा ५७८ जना नयाँ संक्रमित थपिएका छन् । उक्त अवधिमा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैगरी सोही अवधिमा चार जनाको संक्रमणका कारण मृत्यु भएको छ । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।
विगत २४ घण्टाको तथ्यांकलाई आधार मान्दा औसत संक्रमणदर ५२ दशमलव ६प्रतिशत रहेको छ।अहिले देशभर ४६ हजार ५१५ जना होम आईसोलेशनमा र एक हजार ४१४ जना संस्थागत आईसोलेशनमा रहेका छन्। तीमध्ये १६९ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्