प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेको नेपालीको उद्धार गर्न आवश्यक निर्देशन दिइसकेको बताउनुभएको छ ।
देउवाले सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएकाले अत्यावश्यक उद्धार प्रबन्ध मिलाउन आइतबारै निर्देशन दिएको बताउनुभएको हो । ‘सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सजगता र गम्भीरतापूर्वक अभिभावकको जिम्मेवारी निर्वाह गर्छ’, देउवाले भन्नुभएको छ ।
आज सामाजिक सञ्जालमा लेख्दै देउवाले अफगानिस्तानमा नेपालीको अवस्था र स्थितिको तथ्य लिने काम भइरहेको बताउनुभयो ।‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु’, प्रधानमन्त्री देउवाले लेख्नुभएको छ ।
यसैबीच, सरकारले हिजै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र पनि गठन गरेको छ ।सो संयन्त्रमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यक मन्त्रालयका प्रतिनिधि रहेका छन् ।अफगानिस्तानमा औपचारिक क्षेत्रमा करीब १५ सय नेपाली कार्यरत रहेपनि अनौपचारिक क्षेत्रमा कति नेपाली छन् भन्ने तथ्यांक सरकारसँग छैन ।
यस्तै,सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।परराष्ट्र मन्त्रालयका अनुसार मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका सदस्य रहने गरी कार्यदल गठन गरिएको हो ।
रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय तथा उद्धारका लागि मुख्यसचिव शङ्करदास बैरागीको कार्यकक्षमा आज अन्तर मन्त्रालयको बैठक बसेको थियो । उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ । अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ ।
यस्तै उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न बैठकले आग्रह गरेको छ ।काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्र सङ्घको कार्यालयलाई औपचारिक पत्राचार गरिसकेको छ । अफगानिस्तनमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एडभाइजरी जारी गरिएको छ । आवश्यक सहयोगका लागि दूतावासको विभिन्न फोन तथा अन्य सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवम् तथ्याङ्क उपलब्ध गराउनसमेत आग्रह गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।







प्रतिक्रिया लेख्नुहोस्