२०८३ बैशाख ३०, बुधबार

कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्दै छ । बैठक प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकमा सरकारमा सहभागी हुने बाँकी मन्त्री छनोट गर्ने विषयमा छलफल हुने जानकारी दिइएको छ । देउवा नेतृत्वमा सरकार बनेको दुई महिना भइसक्दा पनि अझै मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन । मन्त्रीपरिषद् विस्तारमा ढिलाई हुँदा प्रधानमन्त्री देउवाको ओलोचना पनि भइरहेको छ । मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले काँग्रेस नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

यसअघि नै कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनिसकेका छन् । आजको बैठकमा महाधिवेशनका बाँकी कामबारे छलफल गर्ने पनि जानकारी दिइएको छ । महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिका बारेमा पनि आवश्यक निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्