२०७८ को दशै पनि गयो कसैलाई ऋण बाेकाएर कसैलाई धन कमाउने मौका दिएर । यो पाली पनि थरि थरीका दशैँका शुभकामना देखियो : विजया दशमीको शुभकामना ! बडा दशैँको शुभकामना ! हिन्दुहरुको महान पर्व दशैँको शुभकामना ! नेपालीहरुको महान पर्व दशैँको शुभकामना ! दुर्गा भवानिले असुरमाथि विजय गरेको बिजया दशमीको शुभकामना ! राज्य प्रमुखले भने बडा दशैँको शुभकामना ! सरकार प्रमुखले भने दशैँको शुभकामना ! पार्टी अध्यक्ष तथा प्रमुखहरूले पनि शुभकामना दिए ! ठुला बढाका शुभकामना त टिभी, रेडियो र खबर कागजले पनि दियो । स-सानाका शुभकामना सामाजिक संजालमा छ्याप्छ्याप्ती आए ।
हुँदाहुँदै पुर्व राजाले पनि भ्याए शुभकामना भन्न । उनको अलि कडै आयो:आफू बिनाको लोकतन्त्र असान्दर्भिक ! उन्लाइ लाग्यो होला – हिन्दु धर्म मान्ने अनि हिन्दु राजा किन न मान्ने ? त्यस्तै , राजावादी पार्टीको पुर्व राजाको भनाइलाई समर्थन गर्दै आयो बडा दशैँको शुभकामना ! चिहानमा पुरिसकिएको राजतन्त्र जगाउने शुभकामना आयो ! राजावादीहरुले पुर्वराजाको आकङ्क्षालाइ स्वागत गर्नु अस्वाभाविक हैन । उनिहरुले धर्मको नाममा जनतालाइ अन्धभक्त बनाएर लामो कालखण्ड शासन गरे । त्यस्कारण हिन्दु भावनालाई उचालेर यसो गर्नु उनीहरुको परम्परा नै हो । हिन्दु धर्म सामन्ति जातीय समाजमै बाच्ने हो ! त्यो अचम्मको कुरा छैन र हैन ! त्यसको उद्गमनै त्यसरी भएको थियो । हिन्दु धर्म हैन, संस्कृति हो भन्नेहरू पनि छन् । त्यसो हो भने हिन्दु कति संस्कृति र कति चाहिँ धर्म होला ? मनुस्मृती संस्कृतिको अभिलेख कि धर्मको सुत्र ? रामायण, महाभारत, पुराण जस्ता हिन्दु ग्रन्थहरु के हुन्? संस्कृति सजिव र परिवर्तनशिल हुन्छ। समय र समाजको आवस्यकता अनुसार संस्कृति संसोधन हुँदै जान्छ ।
हिन्दुराज्य र हिन्दु धर्मबाट प्रताडित केही दलित र जनजातिले पनि बडा दशैँको शुभकामना बाँडे। केही तामाङले सोझो नाक न समातेर म्हेनिङको नाममा पछाडि बाट घुमाएर समाते! दरबारिया संस्कृति थाम्नेहरुले हनुमान ढोकामा चाहिँ दशैँको अस्टमी, नवमिमा सैयौ भक्कु लडाए । दलित अधिकारकर्मी , जनजाति अधिकारकर्मी, लोकतन्त्रवादिको लागि – दशैँ मानेर हिन्दु जातीय सामन्तवादको बिरोध गर्यो कि समर्थन गर्यो?
दशैँ शब्द विजया दशमीको दशौं दिन र दशहराबाट आएको मानिन्छ । दशहरा शब्द भने दशानन (अर्थात् दश = दस र आनन = मुख भएको रावण) को पराजयबाट बनेको हो । अत: नेपालका जनजातिले अयोध्याका रामले रावणको बध गर्दा किन खुसी मनाउनु पर्ने? त्यस्तै दुर्गा भवानिले महिषासुर नामक असुरको बध गरेको खुसियालीमा दशैँ मान्ने परम्परा बस्यो पनि भनिन्छ । जुन धर्मले दलितको मानवता माथी नै आक्रमण गर्यो त्यसलाई किन धर्म भन्नू पर्ने? यो चाहिँ बिचित्रको कुरा भएको छ । नेपाली काङ्ग्रेस पार्टीको पनि शुभकामना आयो । यो उदारबादी लोकतन्त्रको पक्षधर पार्टी मानिन्छ । उदारवादी लोकतन्त्रको आधारभुत मान्यता हो – लोकतन्त्रमा प्रत्येक ब्यक्ति समान र स्वतन्त्र हुन्छन् । के हिन्दु दशैँले समान र स्वतन्त्रताको सन्देश दिन्छ ? अह, दिदैन । तब किन काङ्ग्रेस हिन्दु दशैँको शुभकामना बाड्दैछन्?
एमाले कम्युनिस्टबाट प्रशिक्षित राष्ट्रपति त प्रत्येक शक्ति पिठ (देवी)चाहरेर बिछट्ट गर्दैछिन् । राजा र राष्ट्रपतिको भेद छुट्ट्याउनु कठिन भएको छ। यहाँ कम्युनिस्ट पार्टीहरु पनि शुभकामना दिन पछि परेनन् । मार्क्सवादी चिन्तनअनुसार धर्म र संस्कृति पनि बर्गिय हुन्छ । मार्क्सवाद भौतिकवादी दर्शन हो । हिन्दु दशैँको शुभकामनामा कहाँ बर्गिय पक्षधरता र भौतिकवादी दृष्टि प्रकट हुन्छ ? हुँदैन । मार्क्सवादले धर्मलाई ईश्वरको नाममा अन्यायलाई दैवि अनुमोदन दिने र समाज परिवर्तनलाई अबरोध गर्ने हतियार मान्दछ।
यो दशैँ पर्वलाइ बडा भन्ने किन ? के अरु धर्म र संस्कृति छोटा हुन् ? कुनै पनि धर्म न ठुला छन् न साना हुन्छन् । अन्तर्राष्ट्रिय मानव अधिकार कानुनका दृष्टिमा सबै धर्म सबै संस्कृति समान हुन्छन् । अनि आधुनिक युगमा मानवाधिकारको मापकसङ्ग मेल खाने धर्म र संस्कृति मात्र मान्नयोग्य धर्म र संस्कृति मानिन्छ । तर नेपालको सन्दर्भमा हिन्दु धर्म त राज्य धर्मका नाममा पिडक धर्म पनि हो । यस्ले दलितलगायत गैर हिन्दु माथी अत्याचार गर्दै आएको छ । नेपालमा बौद्ध इस्लाम किरात धर्ममाथी ठुल्दाइको व्यबहार गर्दै आएको छ । पिडक भएकोले बडा भनेको हो ? सबै जातिका नेपाली जनताले हिन्दु धर्मप्रति किन गौरब गर्नु पर्यो कारण के होला ? दशैको कथा एउटा कल्पना हो कि वास्तविकता ? सरकारले दशैमा हामी करदाताले तिरेको करको पैसा आफ्ना कर्मचारीलाई दशै खर्च भनेर बाड्ने गरेको छ ।
यो दशै र राज्य यंत्र बिच के सम्बन्ध छ ? किन समाज बिभाजक धर्मले राज्यबाट प्रोत्साहन पाइरहेछ ? धर्म निरपेक्ष राज्यको धार्मिक तथा सान्स्कृतिक नीति कस्तो हुनु पर्छ ? धर्मनिरपेक्षताले धर्म र राज्यलाई अलगअलग ठान्दछ । धर्मनिरपेक्षताको अर्थ धर्मले राज्य सन्चालनमा हस्तक्षेप न गर्ने र राज्यले धर्ममा अवरोध न गर्ने हो । ब्यक्तिको धर्म हुन्छ तर राज्यको धर्म हुदैन । तसर्थ समाजवाद उन्मुख धर्म निरपेक्ष संविधान अन्तर्गत बनेको सरकारले किन दशैमा लामो बिदा र दशै खर्च दिनु परेको हो ? किन अन्य चाड पर्वमा त्यो सुबिधा न दिने ? स्पष्ट पार्नु पर्छ ! पुँजिवादमा हरेक वस्तु माल (commodity ) मानिन्छ । हरेक वस्तु बिक्रिमा राखिन्छन् । धर्म र संस्कृति पनि अपवाद हुन्नन् ।
तसर्थ पुँजिपतिहरुले धर्मको प्रवर्द्धन त नाफा र पुँजि सन्चय को लागि गर्ने हो ! उसलाई स्वर्ग र नर्क सङ्ग सरोकार हुन्न । विज्ञापन धर्मका लागि हुदैन । काङ्ग्रेसको कुरा छोडौ, हामी कम्युनिस्टहरु समाजवादी संस्कृति निर्माणको गफ छाटेर अघाउन्नौ । तर, यस्तो व्यबहार र अभ्यासबाट के हामी समाजवादी संस्कृति निर्माण गर्न सक्छौ ? यी प्रश्नहरुप्रती सबैको गम्भीर रुपमा ध्यानाकर्षण होस् । सबैमा मङ्गलमय शुभकामना !!!
प्रतिक्रिया लेख्नुहोस्