क्रियाशील सदस्यता विवादका कारण निर्धारित समयमा हुन नसकेको नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन शनिबार देखि सुरु भएको छ। कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा समिति र क्षेत्रीय प्रतिनिधि चयनका लागि जिल्लाको बर्दगोरिया गाउँपालिका–२ मा केही व्यक्तिहरूले मतपत्र च्यातेपछि मतगणना रोकिएको छ ।
वडाको मतगणना भएर पनि नतिजा आइसकेको र क्षेत्रीय प्रतिनिधिको मतगणना हुँदै गरेको प्रचार प्रसार संयोजकले जानकारी दिएका छन् । उनले १६ मतपत्र च्यातिएको जानकारी दिएका छन् । प्रचार प्रसार संयोजकले एक थरीले एउटाले जित्ने र अर्कोले हार्ने निश्चित भएपछि मतपत्र च्यातिनोको जनाएका छन् । कैलालीमा क्षेत्रीय प्रतिनिधि र १ सय २६ वडा समितिका लागि भएको निर्वाचनमा ९१ वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।
जिल्लामा पूर्वकेन्द्रीय सदस्य तथा राज्यमन्त्री चन्द्रसिंह भट्टराई, नेता गंगाबहादुर कुँवर, फकिरसिंह कठायत, जंगबहादुर साउद, बुद्धिसागर चौधरी, पूर्वजिविस सभापति नारायणदत्त मिश्र, कांग्रेस पूर्वजिल्ला सभापति गोविन्द जोशीलगायत निर्विरोध प्रतिनिधि चयन भएका हुन् । प्रचारप्रसार संयोजकका अनुसार ३० वडामा भएको चुनावमा शनिबार राति नै मतगणना भएर नतिजा पनि आइसकेको छ ।
२ वडामा मतगणना जारी छ भने २ वडामा चुनाव हुन बाँकी छ । बाँकी रहेका वडामा आजै निर्वाचन हुँदै छ । टीकापुर नगरपालिका–१ र लम्कीचुहा नगरपालिका–१ मा मतगणना भइरहेको छ ।यसअघि भदौ १८ गते हुने भनिएको वडा अधिवेशन क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको भन्दै स्थगित गरिएको थियो । हाल तेस्रो पटक मिति तोकिएपछि अधिवेशन भइरहेको हो ।
१८ हजार २ सय ७३ क्रियाशील सदस्य रहेको कैलालीमा २ हजार ५ सय जना अध्यक्ष, सभापति, क्षेत्रीय प्रतिनिधिलगायतका पदमा चयन हुँदैछन् । २८ गतेभित्रै वडा अधिवेशनको अन्तिम नामावली सार्वजनिक गरी ३० गते जिल्लामा पालिका अधिवेशन, मङ्सिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशन गर्ने तालिका छ ।
यस पटकको वडा अधिवेशनमा अधिकांश वडामा युवा पुस्ताले नेतृत्व लिएका छन्। प्रतिनिधिमा पुरानो पुस्ताको बर्चश्व रहे पनि वडा नेतृत्वमा भने युवा पुस्ता आएको छ ।







प्रतिक्रिया लेख्नुहोस्