नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशनका लागि सभापतिमा कास्कीका तीन जनाले दावी गरेका छन् । पूर्वमन्त्री यज्ञबहादुर थापा, पुराना नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेले सभापतिका लागि दाबेदारी प्रस्तुत गरेका छन् ।
अन्य पार्टीहरुले प्रदेश संरचना बनाइ सक्दा समेत काँग्रेसले अहिलेसम्म प्रदेश संरचना बनाएको थिएन। १४ औं महाधिवेशनमा आएर पार्टीले प्रदेश संरचना बनाएसँगै प्रदेशको नेतृत्वका लागि काँग्रेसका नेताहरुको हानथाप हुने देखिएको छ ।गण्डकी प्रदेशमा ११ जिल्ला मध्ये कास्कीका तीन जना नेताहरुले प्रदेश समिति सभापतिका लागि आफू आकांक्षी रहेको सार्वजनिक गरेका छन् ।
लामो समय कास्की कांग्रेसको नेतृत्व गरेका आमन्त्रित केन्द्रीय सदस्य समेत भइसकेका एक नेताले आफू प्रदेश सभापतिमा उठ्ने बताएका छन् । उनले आफ्नो राजनीतिक योगदानका बारेमा नेता कार्यकर्ता जानकार रहेको बताउदै आफूले प्रदेश सभापतिका लागि उमेदवार दिने बताए । उनी कास्की १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
नेता चालिसेले आज पत्रकार सम्मेलन मार्फत उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको छ । उनले महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए लगत्तै प्रदेश सभापतिमा उम्मेदवारी दिने सार्वजनिक गरेका थिए । उनी कास्की २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । त्रिभूवन विश्वविद्यालय स्ववियु सभापति भइसकेका चालिसेले विश्वविद्यालयको स्थायी प्राध्यापकबाट राजीनामा दिएर गत निर्वाचनमा कास्की क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।
तर, उनी सफल हुन भने सकेनन् । नेताले काँग्रेसलाई वैचारिक र सांगठनिक हिसाबले बलियो बनाउन प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको बताएका छन् । कास्कीका पूर्व सभापति एवं पूर्व मन्त्रीले पनि प्रदेश सभापतिमा उम्मेदवारी दिन लागको बताए । उनले काँग्रेस प्रदेश संरचनामा गएकाले पार्टीलाई प्रदेशमा बलियो बनाउनका लागि उम्मेदवारी दिने बताएका छन् ।
उनी कास्की ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । चालिसे, थापा र शर्मा तीनै जना २०७४ को निर्वाचनमा कास्कीबाट पराजित भएका थिए । प्रदेश सभापतिमा तनहुँका रघुनाथ पौडेलले पनि उम्मेदवारी दिने चर्चा चलिरहेको छ । लामो समय तनहुँ काँग्रसको सभापति भएका उनी प्रदेश सभापतिमा उठ्न चाहेका छन् ।
त्यसैगरी पर्वतका अर्जुन जोशीको नाम पनि प्रदेश सभापतिका लागि चर्चामा छ । प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको निकट रहेका उनी पूर्व सांसद र केन्द्रीय सदस्य समेत हुन् । काँग्रेसको जिल्ला अधिवेशन १० मंसिरमा र प्रदेश अधिवेशन १६ गते हुँदैछ ।







प्रतिक्रिया लेख्नुहोस्