२०८३ बैशाख २१, सोमवार

विधान फेरियो ओली उम्मेदवार बन्न नपाउने भएपछि

गत असोजमा पारित विधानको धारा ६४ (१) अनुसार केपी शर्मा ओली केन्द्रीय अध्यक्षमा चुनाव लड्न नपाउने भएपछि नेकपा एमालेले रातारात विधान संशोधन गरेर ओलीलाई उम्मेदवार बन्ने बाटो खोलेको छ ।

गत असोज १५–१७ मा ललितपुरको गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशनले पारित गरेको विधानको धारा ६४ अनुसार केपी ओली अध्यक्षमा उम्मेदवार हुन पाउँदैनन् । एउटै पदमा दुईचोटि पदाधिकारीको उम्मेदवार भइसकेको व्यक्ति सोही पदमा तेस्रोचोटि ‘उम्मेदवार हुन नपाउने’ एमालेको विधानमा व्यवस्था छ ।

नेकपा एमालेको विधान–२०७८ को धारा ६४९१० मा भनिएको छ, ‘पालिका वा सोभन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी उम्मेदवार हुन पाउने छैन ।’एमाले अध्यक्ष ओली आठौँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेका थिए ।

माधव नेपालको साथ लिएर चुनाव लडेका उनी त्यसबेला झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका थिए । नवौँ महाधिवेशनमा ओली दोस्रोचोटि अध्यक्षको उम्मेदवार बने र जिते । त्यसबेला उनले माधव नेपाललाई अध्यक्षमा हराएका थिए । अहिले दसौँ महाधिवेशनमा ओली तेस्रोपटक सोही पदमा उम्मेदवार बन्दैछन् ।

तर, दुई महिनाअघि ओलीकै नेतृत्वमा विधान महाधिवेशनबाट पारित विधानले उनलाई तेस्रोचोटि अध्यक्ष पदमा उम्मेदवार बन्न रोक लगायो ।

आफ्नै नेतृत्वमा पारित विधानले ओलीलाई तेस्रोपटक अध्यक्ष पदका लागि उम्मेदवार बन्न रोक लगाएपछि शुक्रबार राति विधानको धारा ६४९१० लाई संशोधन गरेर ओलीका लागि तेस्रोपटक चुनाव लड्ने बाटो खोलिएको छ ।

पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी ‘उम्मेदवार हुन पाउने छैन ।’ भन्ने प्रावधानलाई सच्याएर ‘दुईपटक भन्दा बढी एउटै पदमा रहन पाउनेछैन’ भन्ने प्रावधान राखिएको छ ।

ओलीले पहिलोपटक हारेको र दोस्रो पटक जितेको हुनाले अब फेरि एकचोटि अध्यक्ष बन्न पाउने गरी विधान संशोधन गरिएको एक नेताले जानकारी दिएका छन् । उनले भने, ‘गोदावरीमा पारित विधान नसच्याएको भए ओलीजी उम्मदेवारै बन्न नपाउनुहुनेरहेछ । त्यसैले बाधा अड्काऊ फुकाउनका लागि विधान संशोधन गरेर उहाँलाई अध्यक्ष बन्ने बाटो खोलिएको हो ।’

त्यसो त एमालेले यसअघि ७० वर्ष पुगेको व्यक्ति उम्मेदवार बन्न नपाउने विधानमा व्यवस्था गरेको थियो । तर, गोदावरीको विधान महाधिवेशनले केपी ओलीलाई लक्षित गरी ७० वर्ष कटे पनि पदमा रहन पाउने गरी विधान सच्याइसकेको छ ।

केपी ओली यही फागुनमा ७० वर्ष पुग्दैछन् । गोदावरीमा पारित एमालेको विधानको धारा ६४ ९२० मा ओलीलाई सजिलो पार्दै भनिएको छ, ‘निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्नेछ । तर, ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन÷अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा पुगेको मानिनेछैन ।’

शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई अध्यक्ष बन्ने मार्ग प्रशस्त गर्नुका साथै ९९ सदस्यीय पोलिटब्यूरो कमिटीको पनि व्यवस्था थप गरेको छ । साथै पोलिटब्यूरो कमिटीको काम कर्तव्य र अधिकार पनि शुक्रबार संशोधित विधानमा थप गरिएको छ ।

यसका साथै २२५ सदस्यीय कमिटीलाई ३०१ बनाउने र पदाधिकारीको सङ्ख्या १५ बाट बढाएर १९ बनाउने गरी एमालेले विधानमा संशोधन गरेको छ । शुक्रबार संशोधित विधान शनिबार राति बन्दसत्रबाट पारित भइसकेको एमाले नेताले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्