राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले वैकल्पिक राजनीतिको नेतृत्व गर्ने अवसर पाएको बताएका छन् । शपथ ग्रहणपछि सम्बोधन गर्दै वैकल्पिक लिङ्देनले नेतृत्व गर्न चुनौती रहेको पनि बताएका छन् । सके निर्वाचनबाट नसके सडकबाट आफ्नो मान्यता स्थापित गर्ने बाटो अख्तियार गर्ने उनले बताएका छन् ।
नेपालको राजनीतिक पार्टीको विधान र संविधानमा नेतृत्व हस्तान्तरण व्यवस्था नभएकाले एकथरीले टिक्न गुट बनाउने र अर्कोले विद्रोह गर्न अर्को दलको साहरा लिनुपर्ने समेतको अवस्था भएकाले राजनीति अस्थिर भएको उनले बताएका छन् ।कांग्रेस, एमालेमा भएका युवा नेताहरूसँग पुस्तान्तरणको कुरा गरे पनि कसैले आँट गर्न नसकेको उनको भनाइ छ ।
पार्टीका तत्कालीन अध्यक्षत्रयसँग अनुरोध गर्दा डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबरलाई नयाँ नेतृत्वका लागि बाटो खोलिदिएको भन्दै उनले धन्यवाद दिएका छन् । उनले पार्टीमा निवर्तमान अध्यक्ष कमल थापाको योगदानको खाँचो रहेको बताएका छन् ।
“तपाईंहरू विनाको राप्रपाको कल्पना गर्न सक्दैनौँ । तपाईंहरूलाई पार्टीबाट बाहिर राख्न खोजेको होइन । हामीलाई श्रद्धय कमल थापाको पनि खाँचो छ,” उनले भने, “उहाँको सक्रियताको र योगदानको अवमूल्यन गर्न सकिँदैन । उहाँको योगदानको खाँचो छ ।” अब पार्टीमा कुनै समूह नरहेको र आजबाट गुटको अन्त्य भएको उनको दाबी छ ।
उनले शपथ ग्रहण कार्यक्रममा थापा उपस्थित नभएपछि भने, “कमल थापा पनि यहाँ आउनुभएको भए सुनमा सुगन्ध हुन्थ्यो । म पूर्ण विश्वास गर्छु आगामी दिनमा हामीसँगै हुनेछौँ।”







प्रतिक्रिया लेख्नुहोस्