नुवाकोटको विद्युत प्रशारण लाइनको तारमा चढेका एक व्यक्तिको हेलिकोप्टरबाट उद्धार गरिएको छ । विद्युत प्रशारण लाइनको तारमा चढेका नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घले गाउँका माइला विकलाई धेरै कोशिसपछि नेपाली सेनाले हेलिकोप्टरबाट उद्धार गरेको हो ।
विद्युत प्रशारण लाइनको तारमा चढेर विकले दिनभरजसो वरपर गर्दा आयोजना नै बन्द गर्नु परेको थियो । जसका कारण नेपाल विद्युत प्राधिकरणले ७० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले ५ घण्टा विद्युत उत्पादन बन्द गर्दा ७० लाख बराबरको घाटा भएको जानकारी दिए ।
अनेक प्रयासपछि बल्ल हेलिकोप्टरमार्फत उनलाई तल झार्न सकिएको प्रमुख कार्यकारी अधिकृत घिसिङ्गले बताए । उनलाई तारबाट तल झान दिनभरजसो झण्डै ७० मेगावाट विद्युत उत्पादन बन्द गरिएको थियो । विककै कारण बिहान ११ बजेदेखि विद्युत उत्पादन बन्द गरिएको घिसिङले बताए । तलबाट बोलाउँदा नमानेपछि उनको उद्धारका लागि प्राधिकरणले प्रमुख जिल्ला अधिकारी र सेनालाई गुहारेको थियो ।
घिसिङले ती ब्यक्तिमा मानसिक समस्या रहेको बताए । उनले भने, ‘विद्युत टावरमा हतपत्त मान्छे चढ्दैनन् । कि आत्महत्या गर्न गएको हुनुपर्यो ।’ ५ घण्टादेखि माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द भएपछि काठमाडौंमा विद्युत वितरणमा केही समस्या हुने उनले बताए ।







प्रतिक्रिया लेख्नुहोस्