कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई सफाइ दिएको भन्दै रौतहटमा एक परिवार जिल्ला अदालत अगाडि धर्नामा बसेको छ।
पसलमा उधारो सामान नदिएको भन्दै २०७६ असार ४ गते राति १० बजे यमुनामाई गाउँपालिका–४, सरुअठा गाउँका विनोद गुप्तालाई गाउँकै एक समूहले मरणासन्न हुने गरी कुटपिट गरेको थियो। टाउकोमा गम्भीर चोट लागेका विनोदको उपचारको क्रममा नेशनल मेडिकल कलेज बीरगंजमा ६ दिनपछि असार १० गते मृत्यु भएको थियो।
मृत्यु लगत्तै मृतकको भाइ राजन गुप्ता र उनको श्रीमती अनिता देवीले दिएको जाहेरीको आधारमा नाबालक निखिल सिंह, विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहित कुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंहमाथि तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।
रामकिशोर सिंह र रामविनोद सिंह, निखिल कुमार सिंहलाई १ वर्षअघि प्रहरीले पक्राउ गरी रौतहट जिल्ला अदालतमा पेस गरेको थियो। अदालतले अभियुक्तमध्ये एक जना नाबालक १३ वर्षीय निखिल कुमार सिंहलाई तत्काल सुधार गृह बीरगंज र पछि अभिभावकको जिम्मा लगाएको थियो । रामकिशोर सिंह र रामविनोद सिंहलाई जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको थियो।
माघ २० गते आइतबार जिल्ला न्यायाधीश मनोज केसीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै दुवैलाई सफाइ दिएपछि पीडित परिवार आन्दोलित भएका हुन्। सोमबारदेखि जाहेरीवाला राजन गुप्ता र मृतककी श्रीमती अनिता देवी सपरिवार समर्थकसहित आन्दोलन तथा धर्नामा उत्रिएका हुन्।
उक्त घटनाका अन्य ४ जना आरोपित भने हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्