इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका व्यक्तिहरूको हेरचाहका लागि नेपालबाट १ हजार ४६४ जना सहायक कामदार लैजाने प्रक्रिया सुरु भएको छ। वैदेशिक रोजगार विभागले मंगलबार भदौ २३ गते सूचना जारी गर्दै नेपाल सरकार र इजरायल सरकारबीचको सरकार-सरकार (जीटूजी) प्रक्रियामार्फत उक्त संख्यामा नेपाली कामदार छनोट गरी पठाउन आवेदन खुलाएको हो।
माग गरिएका कामदारमध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष छन्। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको दैनिक स्याहार तथा सहयोगका लागि उनीहरूलाई रोजगारी दिइनेछ।
छनोट भएर इजरायल जाने सहायक कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली नयाँ शेकेल (एनआईएस) तलब पाउनेछन्। हालको विनिमय दरअनुसार यो रकम करिब ३ लाख २३ हजार रुपैयाँ बराबर हुन्छ। कामदारले अतिरिक्त समयबाहेक सातामा ४२ घण्टा काम गर्नुपर्नेछ। इजरायलको श्रम कानुन तथा सम्बन्धित नियमअनुसार अतिरिक्त समय काम गरेबापत थप सुविधा पाउने व्यवस्था रहनेछ।
कामदारको करार अवधि थप भएमा अधिकतम ५ वर्षसम्म इजरायलमा काम गर्न सकिने विभागले जनाएको छ। इजरायल पुगेपछि कामदारले आफ्नो खानाको खर्च आफैँ व्यहोर्नुपर्नेछ। आवासको व्यवस्था भने रोजगारदाताले विदेशी कामदारसम्बन्धी नियमअनुसार गर्ने भए पनि त्यसको खर्चसमेत कामदार स्वयंले व्यहोर्नुपर्नेछ।
यसअघि इजरायलमा रोजगारीका लागि जाने नेपाली कामदारको आकर्षणको प्रमुख कारण तुलनात्मक रूपमा राम्रो आम्दानी र वैदेशिक रोजगारीको सुरक्षित अवसर रहँदै आएको छ। नयाँ मागले पनि ठूलो संख्यामा नेपालीलाई इजरायलमा रोजगारीको अवसर सिर्जना गरेको छ।
विभागका अनुसार आवेदन दिन इच्छुक नेपाली नागरिक २५ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदकको उचाइ कम्तीमा १.५ मिटर र तौल कम्तीमा ४५ किलोग्राम हुनुपर्नेछ। शैक्षिक तथा व्यावसायिक योग्यताका हकमा आवेदकले कम्तीमा कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्नेछ।
वैकल्पिक रूपमा कक्षा १२ वा सो सरह उत्तीर्ण गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट कम्तीमा तीन महिनाको हेरचाहसम्बन्धी तालिम लिएको व्यक्ति पनि आवेदनका लागि योग्य हुने विभागले जनाएको छ।
इजरायल जान इच्छुक योग्य उम्मेदवारले विभागको वेब पोर्टलमार्फत ३५ दिनभित्र अनलाइन आवेदन दिनुपर्नेछ। विभागका अनुसार आवेदन दिने अन्तिम मिति असोज २६ गते रहेको छ। सरकार-सरकार प्रक्रियाबाट हुने भएकाले इच्छुक उम्मेदवारले आवेदन, छनोट र अन्य प्रक्रियासम्बन्धी विवरण विभागले जारी गर्ने आधिकारिक सूचनाअनुसार पूरा गर्नुपर्नेछ।
इजरायलमा रोजगारीका लागि खुलेको यो अवसरले विशेषगरी स्वास्थ्य तथा हेरचाहसम्बन्धी तालिम र अनुभव भएका नेपालीका लागि आकर्षक वैदेशिक रोजगारीको ढोका खोलेको छ। तर तलबसँगै खाना, आवास तथा अन्य खर्चसमेत कामदार स्वयंले व्यहोर्नुपर्ने भएकाले विदेश जानुअघि तलब र कुल खर्चबीचको वास्तविक आर्थिक हिसाब गरेर निर्णय गर्नु आवश्यक देखिन्छ।







प्रतिक्रिया लेख्नुहोस्