मनास्लु हिमाल आरोहणका क्रममा क्याम्प-३ मा हिउँले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ वर्षीय जर्मन नागरिक ध्रुवज्योति गुहा र संखुवासभाको मकालु गाउँपालिका–२ का ४८ वर्षीय नेपाली गाइड फुर्सेम्बा शेर्पा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार दुवै जना असोज ३ गते राति १० बजेसम्म सम्पर्कमा थिए । त्यसपछि सम्पर्कविहीन भएपछि खोजीका लागि क्याम्प–२ बाट पासाङ पेम्बा शेर्पा र दावा शेर्पाको टोली क्याम्प–३ पुगेको थियो ।
खोजीका क्रममा चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु क्याम्प–३ मा दुवै जना टेन्टभित्र हिउँले पुरिएको अवस्थामा मृत फेला परेका थिए । मकालु एड्भेन्चर कम्पनीले उपग्रह सम्पर्कमार्फत क्याम्प–२ सँग सम्पर्क गरेपछि घटनाको पुष्टि भएको हो ।
दुवै जना मकालु एड्भेन्चर कम्पनीमार्फत मनास्लु आरोहणका लागि भदौ २२ गते सामागाउँ पुगेका थिए । मृतकको शव उद्धार गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्