२०८३ बैशाख २७, आइतवार

कांग्रेसको महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनका क्रममा रुपन्देहीमा देउवा र पौडेल पक्षबीच झडप

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनका क्रममा रुपन्देहीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच झडप भएको छ। रुपेन्देही क्षेत्र नं. ३ ‘क’ मा मतगणना चलिरहेका वेला झडप भएको हो। दुवै पक्षको झडपमा पाँच जना घाइते भएका छन्।

देउवा पक्षले आक्रमण गरेको पौडेल पक्षको आरोप छ। झडपमा कांग्रेसको क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्थ घाइते भएका छन्। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। क्षेत्रीय निर्वाचनमा देउवा पक्षबाट सुरेन्द्रजंग थापा र पौडेल पक्षबाट पुरणप्रसाद श्रेष्ठ उम्मेदवार रहेका थिए।

सभापतिमा पौडेल पक्षले अग्रता लिएपछि देउवा पक्षले आक्रमण गरेको जनाइएको छ। देउवा पक्षका नेता एवं कांग्रेसका जिल्ला सचिवले कार्यकर्ताबीच धकेलाधकेल भएको बताएका छन्। मादक पदार्थ सेवन गरेका कार्यकर्ताबीच विवाद बढ्दै जाँदा झडपको अवस्था आएको उनको भनाइ छ।

क्षेत्रीय अधिवेशनमा १६ पदमध्ये १५ मा देउवा पक्षले जितेको छ। सभापतिमा पौडेल पक्षले अग्रता लिइरहेको वेला झडप भएको हो।

 

प्रतिक्रिया लेख्नुहोस्