२०८३ बैशाख २५, शुक्रबार

प्रचण्ड भन्छन्- एमालेका कारण संविधान संशोधन हुन सकेन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का कारण संविधान संशोधन हुन नसकेको आरोप लगाएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सबै जनताको समान अधिकारका लागि आफूले दुईपटक संविधान संशोधन प्रस्ताव अघि बढाए पनि एमालेका कारण सफल हुन नसकेको आरोप लगाएका हुन् ।उनले अहिले पनि एमालेको केपी ओली गुट मधेस, महिला, जनजातिलगायत मुलुकको परिवर्तनको विरोधी भएको टिप्पणी गरेका छन् ।

परिवर्तनको रक्षा गर्दै जनताको हक, अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको उनको भनाइ छ । यसअघि पनि आफूहरूले प्रतिगमनलाई असफल बनाएको र परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याएको भन्दै प्रचण्डले जस्तोसुकै मूल्य चुकाएर भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रचण्डले अब पार्टीलाई केन्द्रदेखि स्थानीय तहसम्म बलियो बनाउँदै लैजाने बताएका छन् । अहिले पार्टीको झन्डै आठ लाख क्रियाशील सदस्य पुगेको र छिट्टै १० लाख पुग्ने उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्