२०८३ बैशाख २१, सोमवार

थापाको देउवासँगै सहकार्य र संघर्षको नीति लिएर अघि बढ्ने घोषणा

कांग्रेस महामन्त्रीका उम्मेद्वार गगन थापाले पार्टी सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्षको नीति लिएर आफ्नो समूह अघि बढ्ने घोषणा गरेका छन्।

बुधबार सभपातिका प्रत्यासी शेखर कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन गरेको कार्यक्रममा थापाले सभापति देउवाले राम्रो काम गरे सहकार्य र नराम्रो काम गरे संघर्ष गर्ने बताएका हुन्। ‘अब सभापति शेरबहादुर देउवा हामी सबैको सभापति हुनुभएको छ। अब उहाँसँग सहकार्य र संघर्षको सम्बन्ध हुन्छ,’ थापाले अगाडि भने, ‘पार्टीको हितमा काम गरे, राम्रो काम गर्दा उहाँसँग सहकार्य हुन्छ। तर नराम्रो गरे, पार्टीको हित विपरीत काम गरे संघर्ष गर्छौँ।’

थापाले शेखरको नामको पछाडि कोइराला थर मात्रै जोडिएको टिप्पणी गरे। उनी वंश विरासतका आधारमा नभइ आफ्नै संघर्षबाट सभापतिको उम्मेद्वार बनेको थापाको भनाइ थियो। थापाले भने, ‘नामको पछाडि कोइराला झुण्डिएको मात्रै हो। उहाँ पनि हामीजस्तै सामान्य जनताको छोरा हो।’ उनले सभापति देउवासँग ४० प्रतिशत मत ल्याएकाले त्यहीँ आधारमा भाग शान्ति नलिन कोइरालालाई सुझाव दिए।

पार्टीलाई विधि पद्धतिका आधारमा हिँडाए स्वतः अवसर आउने थापाको जिकिर थियो। गगनले भने, ‘४० प्रतिशतको भाग शान्ति लिन जाने होइन। उहाँ ४० प्रतिशतको जिम्मेवारी लिएर हिँड्नुपर्छ। यो शक्तिलाई बेवास्ता गरेर कोही अघि बढ्न सक्दैन। थिति बस्यो भने ४० प्रतिशत स्वतः आउँछ।’ थापाले देउलालाई पनि गुटको मात्रै सभापति नभइ पार्टीकै सभापति बन्न आग्रह गरे।

‘अब उहाँ गुटको सभापतिमा होइन, कांग्रेसको सभापति हुनुपर्छ। पार्टी कार्यालय वा बालुवाटारमा गुटको बैठक चलाउँदिन भन्ने प्रतिबद्धता चाहियो। सभापतिको दायित्व त्यही हो,’ उनले भने। मंगलबार भएको दोस्रो चरणको मतदानमा कांग्रेस सभापतिमा देउवा २७ सय ३३ मत ल्याएर विजयी भएका छन्। भने अर्का उम्मेद्वार शेखर कोइरालाले १८ सय ५५ पाएका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्