मोरङको रंगेली नगरपालिकामा हिजो बिहानदेखि रोकिएको मतगणना आज साँझदेखि सुरु भएको छ । रंगेली ७ को मतगणनाका क्रममा ९९ मत बढी फेला परेपछि भएको विवादले शुक्रबार बिहानदेखि मतगणना अवरुद्ध भएको थियो ।
आज बेलुका भएको छलफलपछि निर्वाचन आयोगले काँग्रेसका प्रतिनिधि बिना नै मतगणना सुरु गरेको निर्वाचन कार्यालय मोरङका प्रमुख लेवन काश्यप अधिकारीले बताए । ‘काँग्रेसका साथीहरू आउनु भएको छैन, हामीले आउन अनुरोध गरेका छौँ, मतगणना साँझदेखि सुरु भयो,’ उनले भने ।
यता, निर्वाचनमा धाँधली भएको भन्दै नेपाली काँग्रेसले आज पनि प्रदर्शन गरेको थियो । रंगेली नगरपालिका प्रमुखमा काँग्रेसबाट उम्मेदवारी दिएका मोदराज घिमिरेका अनुसार वडा नम्बर ७ मा ३४४२ मत खसेको थियो । तर गणनाका क्रममा ९९ वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको उनले बताए । ‘९९ वटा मतपत्र बढी भेटिनु निर्वाचन धाँधली भएको छ,’ उनले भने, ‘मत गणना स्थगित गरेर रंगेलीमा पुनः निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनु पर्दछ ।’
उनले २ दिन अगाडि सिल तोडिएको अवस्थामा मतपेटिका भेटिनु, ६ नम्बर वडाको मतगणनाका क्रममा २० मत हराउनु र फेरि ९९ मत बढी देखिनुले निर्वाचनमा धाँधली भएको प्रमाणित हुने दाबी पनि गरे । ‘३१ गते बक्सा सिल टुटेको भेटियो, २ दिन हामीले होल्ड गर्यौँ । प्रमुख आयुक्त आएर पुनः मतगणना गर्नुपर्छ भनेपछि विश्वासको आधारमा स्वीकार गर्यौँ । फेरि ६ नम्बर वडाको २० मत हरायो, त्यसलाई फेरि यताउता भनेपछि हामीले मान्यौँ,’ घिमिरेले भने, ‘फेरि हिजो ९९ मत बढी भेटिएपछि हामीले विरोध गरेका हौँ । अहिले हाम्रो सहमति बिना मतगणना सुरु गरिएको सुनेका छौँ, यसलाई हामी मान्दैनौँ, निर्वाचन आयोगको यो निर्णय घोर आपत्तिजनक छ ।
’यता, रंगेली नगरपालिकाका निर्वाचन अधिकृत रामहरि शर्माले कम्प्युटरमा इन्ट्री गर्ने क्रममा गल्ती भएको बताए । ‘७ नम्बर वडामा १० मतपेटिका रहेको छ । १०८ मत बढी आयो भन्ने काँग्रेस प्रतिनिधिहरूको गुनासो रहेको थियो । कम्प्युटरमा इन्ट्री गर्दा १ सय सिट डबल इन्ट्री भएको रहेछ । त्यसलाई हामीलाई सच्याएको छौँ,’ उनले भने, ‘यस विषयमा हामीले दलका प्रतिनिधिलाई पनि बुझाइसकेका छौँ । तर, उहाँहरू अहिलेसम्म गणना स्थलमा आउनुभएको छैन ।’
रंगेली नगरपालिकाको १, २, ३, ४ र ५ वडाको मतगणना सम्पन्न भएको छ । गणना सम्पन्न भएको पाँच वटै वडाध्यक्षमा एमाले विजयी भएका छन् । ६, ७, ८ र ९ वडाको गणना हुन बाँकी रहेको छ । ७ नं। वडा गणना गर्दा विवाद भएपछि अहिले रोकिएको हो । रंगेलीमा २७ हजार २ सय ७० मत खसेको छ । रंगेलीमा एमालेका उम्मेदवार दिलीप कुमार अग्रवालले मेयरमा अग्रता लिएका छन् । उनले ७ हजार ३ सय ८५ मत ल्याएर अग्रता कायम गरेका छन् भने काँग्रेसका उम्मेदवार मोदराज घिमिरेले ५ हजार ७८ मत ल्याएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्