२०८३ बैशाख २३, बुधबार

रवि लामिछाने–बालेन शाह तेस्रो चरणको वार्ता सम्पन्न, परिणामका लागि प्रतिक्षा गर्न रविको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच तेस्रो चरणको भेटवार्ता बिहीबार सम्पन्न भएको छ। उनीहरू ललितपुरको कुपन्डोलस्थित सहयोगी कुमार बेनको घरमा वान-टू-वान छलफलका लागि जुटेका थिए।

आइतबार र सोमबार गरी दुई चरणको भेटपछि केही असमझदारी बढेको चर्चा बाहिरिएका बेला यो भेट महत्वपूर्ण मानिएको छ। सोमबारको भेटमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरिएको भन्ने खबर सार्वजनिक भएपछि रविले त्यसलाई खण्डन गर्दै छलफल त्यस्तो तहमा नपुगेको बताएका थिए।

राजनीतिक सक्रियता बढाउँदै बालेन
मेयर शाह पछिल्ला दिनमा विभिन्न दलका नेता तथा अभियन्तासँग भेटघाटमा सक्रिय छन्। विकल्पिक राजनीतिक शक्ति निर्माणका विषयमा भइरहेको छलफललाई दुवै पक्षले गम्भीरतापूर्वक लिएको संकेत गरिएको छ।

वार्तापछि रविको संकेतपूर्ण प्रतिक्रिया
तेस्रो चरणको वार्ता सकेर बाहिरिएका लामिछानेले पत्रकारहरूसँग विस्तृत प्रतिक्रिया दिन चाहेनन्। हँसिलो मुद्रामा निस्किएका उनले सञ्चारकर्मीलाई “मिलाएर कुरा बुझ्न” आग्रह गर्दै परिणामका लागि केही समय प्रतिक्षा गर्नुपर्ने बताए।
पत्रकारले “बालेनले लौरो टेक्ने हो कि घण्टी बजाउने हो?” भन्ने प्रश्न गर्दा उनले “मेरो अनुहारले के बताउँछ?” भन्दै उत्तर टारे।

पत्रकार–युट्युबर भीडमा धकेलाधकेल
कुमार बेनको घरबाट बाहिरिँदै गर्दा पत्रकार तथा युट्युबरको भीडमा धकेलाधकेल भएपछि रविले सबैलाई अनुशासित हुन आग्रह गरे।

वार्ता जारी रहँदा सहयोगी कुमार बेन, अर्जुन घिमिरे ‘पाँडे’ लगायतका व्यक्तिहरू बाहिरै बसेका थिए। यसै क्रममा ‘रवि, बालेन र कुलमानसहित वैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्ने’ भन्दै आएका अभियन्ता सुधन गुरुङले प्रतीकात्मक रूपमा घरमा ताला लगाइदिएका थिए।

दुवै नेताबीचको संवादलाई आगामी राजनीतिक समीकरणका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्