कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुगेको छ। १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनाको तीन वर्ष पुग्दा पनि अझै दोषी पत्ता लागेको छैन ।
निर्मलाकी आमा दुर्गादेवी पन्तले दोषीलाई कारबाही हुने आशा मरेको बताएकी छिन् । २०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडामा रहेको घरमा गएकी निर्मलाको भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउको उखुबारीमा शव भेटिएको थियो । त्यसपछि दोषीलाई कारबाहीको माग गर्दै लगातार विरोध प्रदर्शन भइरहेको छ ।
२०७५ साल भदौ ८ गते प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा भीमदत्त–१८ भगतपुरका शनि खुनाको ज्यान गएको थियो । अहिले पनि निर्मला घटनामा ठोस प्रमाणकै खोजीमा रहेको प्रहरीले जनाएको छ ।निर्मला बलात्कार तथा हत्या प्रकरणको अनुसन्धान प्रगति ‘शून्य’ जस्तै छ । घटना भएको ३ वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन । नेपाल प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’ जस्तै भएको छ । ५२९ जनासँग बयान लिइएको छ भने ८० जनाको डीएनए परीक्षण गरिएको छ । तर दरिलो प्रमाण प्राप्त हुन सकेन । यसले गर्दा यो प्रकरण नेपाल प्रहरीकै लागि चुनौती बनेको छ ।

उता कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चतुर्वेदी भने घटनालाई पहिलो प्राथमिकता दिएर गहन रूपमा अनुसन्धान भइरहेको दाबी गर्छन् । ‘यो घटनाको अनुसन्धानलाई हामीले प्रमुख प्राथमिकतामा राखेका छौं । त्यसका लागि छुट्टै टिम सक्रिय छ,’ उनले भने, ‘तर निष्कर्षमा पुग्ने ठोस प्रमाण भेटाउन सकिएको छैन । दोषी पुष्टि गर्ने प्रमाण खोजीमा छौं ।’ यो प्रकरण अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोलीसँगै सीआईबीलगायत अनुसन्धान टोली सक्रिय छन् । परिणाम आउन ढिला भए पनि आफूहरूले वस्तुपरक तरिकारले अनुसन्धान गरिरहेको उनीहरूको दाबी छ । शंकास्पद मानिएका विषयको निरन्तर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
निर्मला प्रकरणमा अपराधीसम्म पुग्ने दरिलो आधार डीएनए परीक्षण मात्रै हो । पछिल्लो समय डीएनएमा पनि प्रश्न उठेको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक जीवन रिजालको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले डीएनएलाई प्रमाणका रूपमा लिन नमिल्ने समेत ठहर गरेको छ ।







प्रतिक्रिया लेख्नुहोस्