२०८३ असार ५, शुक्रबार

गाँजासहित पक्राउ परेका विराटनगरका युवाको प्रहरी हिरासतमा मृत्यु

गाँजासहित पक्राउ परेका विराटनगर–११ का भीम कामतको प्रहरी हिरासतमा मृत्यु भएको छ। महानगरपालिकाको ३७ वर्षीय कामतलाई शुक्रबार ३ किलो ४ सय ८० ग्राम गाँजासहित मोरङ प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका कामतको आइतबार दिउँसो थुनुवा अवस्थामा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख उपरीक्षकका अनुसार लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गर्न अदालत लैजाने तयारीका क्रममा कामत हिरासत कक्षबाहिर रिँगटा लागेर लडेका थिए।

एकाएक बेहोस भएका कामतलाई तत्काल कोसी अस्पताल पुर्‍याइएको प्रहरी प्रमुखले जानकारी दिएका छन् । कामतको कोसी अस्पतालमा उपचारका क्रममा सवा २ बजे मृत्यु भएको उनले बताएका छन। बेहोस भएर लड्दा कामतको मुखबाट फिँज आएको बताइएको छ। सोही अवस्थामा उनलाई अस्पताल पुर्‍याइएको थियो।

प्रहरीका अनुसार कामत लागुऔषधका कारोबारी र दुर्व्यसनीसमेत थिए। दुर्व्यसनी भएका कारण हिरासतमा उनले लागुपदार्थ सेवन गर्न नपाउँदा समस्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। प्रहरीले घटनाको अनुसन्धानका क्रममा शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्