२०८० चैत्र १५, बिहिबार

साना ग्रह ‘खाएपछि’ बृहस्पति ठूलो भएको वैज्ञानिकहरुको दाबी

चन्द्रमा,सूर्य र हाम्रो सौर्यमन्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन् । तर, विशाल ग्रह बृहस्पतिको उत्पत्तिको रहस्यबारे चित्तबुझ्दो जबाफ अझै फेला पर्न सकेको छैन् ।

हालै गरिएको एक अध्ययनले बृहस्पतिलाई हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह मान्नुमा एउटा कारण रहेको पत्ता लागेको छ । वैज्ञानिकहरुका अनुसार यसले अन्य साना ग्रहहरू ‘खाएर’ यसको आकार (पृथ्वीभन्दा ३०० गुणा ठूलो) विशाल भएको हो ।

नासाको जुना अन्तरिक्ष अनुसन्धानले संकलन गरेको गुरुत्वाकर्षण तथ्यांक र ग्यास कोरमा रहेको चट्टानी सामग्रीको ‘कम्पोजिसन’को अध्ययनका आधारमा बृहस्पति ग्रहले बच्चा ग्रह ‘खाएको’ वैज्ञानिकहरुले निस्कर्ष निकालेका हुन् ।

यो सिद्धान्त एसआरओएन नेदरल्याण्ड इन्स्टिच्युट फर स्पेस रिसर्चका यामिला मिगुएलको नेतृत्वमा रहेको खगोलविद्हरूको अन्तर्राष्ट्रिय टोलीले यस्तो प्रस्ताव गरेको थियो । उनीहरूले गत साता एस्ट्रोनोमी र एस्ट्रोफिजिक्स जर्नलमा आफ्नो लेख प्रकाशित गरेका थिए । यद्यपि, वृहस्पति कसरी बन्यो भन्ने बारेमा निश्चित रुपमा अझै थाहा नभएको वैज्ञानिकहरुको भनाइ छ ।

‘हाम्रो सौर्यमण्डलमा बन्ने पहिलो ग्रहहरूमध्ये बृहस्पति एक थियो । यद्यपि, यो कसरी बन्यो भन्ने बारे हामीलाई निश्चित रूपमा केही थाहा छैन’, नेदरल्यान्ड्सको लिडेन विश्वविद्यालयकी खगोल भौतिकशास्त्री यामिला मिगुएलले लाइभ साइन्सलाई बताइन् ।

बृहस्पति आज मुख्यतया घुमिरहेको ग्यासको बल हुन सक्छ, तर यसले सौर्यमण्डलका सबै अन्य ग्रहहरू जस्तै चट्टानी सामग्रीहरू संग्रह गरेर आफ्नो जीवन सुरु गरेको वैज्ञानिकहरुको दाबी छ ।

प्रतिक्रिया लेख्नुहोस्