काठमाडौं । नेपाल आयल निगमले खरिद गरेको देशका विभिन्न भागका जग्गा सदुपयोग नभएको पाइएको छ । निगमले आर्थिक वर्ष २०७३/७४ मा रूपन्देही, चितवन, सर्लाही र झापामा किनेको २ अर्ब ५ करोड ६६ लाख रुपैयाँ लागतको ६८ बिघा जग्गा हालसम्म उपयोगमा नल्याउँदा गलत उद्देश्यका लागि प्रयोग भएको पाइएको महालेखा परीक्षकको ५९औं प्रतिवेदनमा उल्लेख छ ।
पेट्रोलियम पाइपलाइन र भण्डारण पूर्वाधारका लागि महँगोमा किनिएको जग्गा कतै खेल मैदान बनाएर स्थानीयले प्रयोग गरेको तथा कतै भने नेपाली सेनाले कब्जा गरेको प्रतिवेदनमा उल्लेख छ ।जग्गाको उचित उपयोग र संरक्षण गर्न आयल निगमलाई प्रतिवेदनले सुझाएको छ । सर्लाहीको जग्गामा एलपीजी ग्याँस बोटलिङ प्लान्ट बनाउने, चितवन र झापाको जग्गामा अमलेखगञ्जको जस्तै पाइपलाइनको व्यवस्था गरी भण्डारणको व्यवस्था गर्ने निगमको कार्ययोजना थियो ।
रूपन्देहीमा रहेको जग्गामा पेट्रोलियम पदार्थ भण्डारणको कार्य गर्न केही जग्गा नपुग रहेको हुँदा थप जग्गा प्राप्तिपछि पूर्ण उपयोगमा ल्याउने निगमको योजना थियो ।निगमको पोखरा प्रादेशिक कार्यालय अन्तर्गत रहेको ७७ रोपनी जग्गामध्ये करिब १८ रोपनी जग्गा निगमको नियन्त्रणमा नरहेको र उक्त जग्गा स्थानीय बासिन्दाहरूले खेल मैदान तथा बाटोको रूपमा प्रयोग गरिरहेको पनि प्रतिवेदनमा औल्याइएको छ ।निगमको लालबन्दी १, सर्लाहीस्थित जग्गामा तारबार नहुनाले स्थानीयले सडक निर्माण गरी प्रयोग गरेको, धनकुटास्थित जग्गा र भवन रेडियो नेपालले प्रयोगमा ल्याए पनि बहाल रकम असुल नगरेको, चारआलीस्थित जग्गामा तारबार नभएकाले अतिक्रमणको जोखिम रहेको, जनकपुरस्थित जग्गाको अधिकांश भूभाग नेपाली सेनाले प्रयोग गरेको र थानकोटस्थित जग्गामा समेत पूर्ण रूपमा तारबार नगरेको प्रतिवेदनमा उल्लेख छ ।







प्रतिक्रिया लेख्नुहोस्