२०८३ बैशाख १८, शुक्रबार

विभिन्न जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ

कास्की र सुनसरीबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२१ भोटेबहालबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका–११ का ३३ वर्षीय अनिल श्रेष्ठ छन् । उनलाई शनिबार पक्राउ गरिएको हो ।

श्रेष्ठको साथबाट प्रहरीले चरेस १ सय ७० ग्राम, पोल्याण्ड १ सय ३० ग्राम, ब्राउनसुगर ३ ग्राम, १ थान छुरी, १ थान प्लाष्टिकको पेस्तोल, १ थान डिजिटल तराजु, ४ थान घडी, २ थान मोबाइल र नगद १४ हजार ५ सय रुपैयाँ बरामद गरेको छ । प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले श्रेष्ठलाई उनकै डेराबाट लागूऔषधसहित पक्राउ गरेको हो । कास्कीको पोखरा महानगरपालिका–७ राधाकृष्ण मार्गबाट नियन्त्रित लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने बाँके घर भएका २९ वर्षीय विशाल राना छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले डाईजापाम ६० एम्पुल, फेनरागन ६० एम्पुल र नुरफिन ६० एम्पुल बरामद गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले रानालाई उनकै कोठाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट अवैध लागू औषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४१ वर्षीय अमर राई लगायत छन् । उनीहरुको साथबाट प्रहरीले गाँजा १ केजी, ट्रामोल १ हजार क्याप्सुल र स्पासपेन १ हजार ट्याबलेट बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यसैगरी धरान उपमहानगरपालिका–१० विशाल पथबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय शिशिर श्रेष्ठ लगायत छन् ।

उनीहरुको साथबाट ट्रामोल १ हजार १ सय क्याप्सुल, स्पासपेन २ सय ५० ट्याबलेट र नगद १ लाख १३ हजार ५ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्