२०८१ जेष्ठ १५, मङ्लबार

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ

झापा र बाँकेबाट लागूऔषधसहित पाँँच जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाँचथर याङवरक गाउँपालिका-५ नागी बस्ने २६ वर्षीय दिपक लोक्सम र भारत घर भएका २५ वर्षीय रन्जित वर्मन रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे।१० प ६९०७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापाकै दमक नगरपालिका-५ गणतन्त्र चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्रामसहित सोही नगरपालिका-९ बस्ने २२ वर्षीय सविन सुनामलाई पनि प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित डुडुवा गाउँपालिका-५ बस्ने २१ वर्षीय राज चौधरीसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.११ प ७०८८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्