काठमाडौँ। धनुषामा एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक झाँक्रीलाई पक्राउ गरेको छ।
बिरामी महिलालाई झारफुक गरी निको पार्ने भन्दै मसानघाट पुर्याएर बलात्कार गरेको आरोपमा प्रहरीले सबैला नगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय विष्णुदेव ठाकुरलाई पक्राउ गरेको हो। गत कात्तिक ५ गते अष्टमीको राति ती महिलालाई झाँक्री ठाकुरले मसानघाटमा लगेका थिए।
भूतप्रेत लागेकोले महिला बारम्बार बिरामी भइरहेको भन्दै झारफुक र तन्त्रमन्त्रका लागि झाँक्री ठाकुरले महिला र उनका श्रीमानलाई मसानघाट लगेका थिए। मसानघाटमा तन्त्रमन्त्र गरेपछि बिरामी निको पारिदिने दाबी ठाकुरको थियो।
‘तन्त्रमन्त्र र पूजा गर्ने ठाउँमा श्रीमान् बस्न मिल्दैन भनेर झाँक्रीले भनेका रहेछन्। महिलामाथि बलात्कारको जाहेरी परेपछि झाँक्री ठाकुरलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले भने। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्