जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत सामग्री वितरण गरेको छ। दाता तथा विभिन्न निकायबाट प्राप्त राहत सामग्री एकद्वार प्रणालीमार्फत सङ्कलन गरी आवश्यकताका आधारमा वितरण गरिएको हो।
नुवाकोटमा १३ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। स्थानीय तहले पीडितका लागि खाना, बास, स्वास्थ्य जाँच तथा पारिवारिक पुनर्मिलनको व्यवस्था मिलाएको छ। गाडी पुग्न नसक्ने स्थानमा हेलिकप्टरमार्फत राहत सामग्री पठाइएको छ।
तर केही दाता तथा व्यक्तिले सहज पहुँच भएका होल्डिङ सेन्टरमा सिधै राहत पुर्याउँदा सबै केन्द्रमा समान रूपमा सामग्री पुग्न नसकेको समितिले जनाएको छ। हाल अधिकांश राहतमा चामल, दाल, चाउचाउ र बिस्कुटजस्ता खाद्य सामग्री प्राप्त भइरहेका छन् भने लत्ताकपडा कम आएको छ।
नदी पारिका बस्तीमा भने राहत पुर्याउन अझै कठिनाइ छ। पुलहरू बाढीले बगाएपछि केही स्थानमा हेलिकप्टर तथा ड्रोनमार्फत राहत पुर्याउने प्रयास भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पनि सञ्चालन गरिएको छ। यसैबीच, नुवाकोटमा बाढीका कारण मृत्यु तथा बेपत्ताको यकिन तथ्याङ्क अझै सङ्कलन भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबारसम्म ८२१ जना बेपत्ता भएको निवेदन प्राप्त भएको छ।







प्रतिक्रिया लेख्नुहोस्