नेपालमा आएको विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै भारतको सिक्किमले राहत तथा स्वास्थ्य सहायता सामग्री पठाएको छ।
सिक्किम क्रान्तिकारी मोर्चाको टोलीमार्फत ‘सिक्किम फर नेपाल’ अभियानअन्तर्गत राहत तथा स्वास्थ्य सामग्री नेपाल पठाइएको हो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले सामग्री बोकेको गाडीलाई सोमबार विदाइ गरेका छन्।
विपद्को कठिन समयमा सिक्किमले गरेको यो पहलले मानवीय संवेदना, करुणा र भ्रातृत्वको भावना प्रस्तुत गरेको मुख्यमन्त्री गोलेले बताएका छन्। आवश्यक परेका नागरिकलाई सहयोग गर्न विपद्का बेला सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।
मुख्यमन्त्री गोलेले विपद्मा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित तथा पीडित नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्।
पुनर्स्थापना र पुनर्निर्माणको यात्रामा रहेका नेपाली जनताप्रति सिक्किमको पूर्ण ऐक्यबद्धता रहेको उनले बताएका छन्। राहत तथा स्वास्थ्य सामग्रीले विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया लेख्नुहोस्