सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ ।
यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको अनुमतिपत्र छपाइको समस्या समाधान गर्न नयाँ प्रणालीबाट छपाइ सुरु गरेको हो । नयाँ प्रणालीबाट नयाँ अनुमतिपत्र लिने र पुरानो अनुमतिपत्र नवीकरण गर्ने प्रक्रिया छिटो र सहज हुने विभागले जनाएको छ ।
प्रणालीमा सेवाग्राहीको विवरण प्रविष्ट भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ । सुरक्षण मुद्रणले अनुमतिपत्र छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ ।
प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा अनुमतिपत्र छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ । सोहीअनुसार मधेश प्रदेशले अनुमतिपत्र छपाइ गरिरहेको छ भने लुम्बिनी प्रदेशले पनि शुक्रबारदेखि छपाइ सुरु गरेको छ ।
प्रदेश सरकारले सम्झौता नगरेको अवस्थामा सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा अनुमतिपत्र छपाइ गरिने विभागले जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्