२०८३ कार्तिक १२, बुधबार

एनपीएलमा सुदूरपश्चिमले पोखरालाई ६ विकेटको हरायो

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित अर्धशतक बनाए। उनले ५१ रनको योगदान दिए भने इशान पाण्डेले ३७ रन बनाए। ब्रान्डन म्याकुलनले २२ र सैफ जैबले १५ रन जोडे।

पोखराका बलर शकिब अल हसन, मेहदी हसन र धनञ्जय लक्षानले एक–एक विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो। पोखराका लागि अर्जुन घर्तीले आक्रामक ब्याटिङ गर्दै २५ बलमा अविजित ४० रन बनाए। मेहदी हसनले ३२, कुशल भुर्तेलले २१ र शकिब अल हसनले १४ रन जोडे।

सुदूरपश्चिमका बलर अनिल खरेलले ३ विकेट लिए। हेमन्त धामी, स्कट कुगलाइन र कप्तान दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट हात पारे। यो सुदूरपश्चिम रोयल्सको दोस्रो खेलमा पहिलो जित हो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले पोखरालाई हराउँदै प्रतियोगितामा पुनरागमन गरेको छ।

पोखरा एभेन्जर्सले भने प्रतियोगिताको सुरुवात हारबाट गरेको छ। एनपीएलअन्तर्गत बिहीबार जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज तथा विराटनगर किंग्स र कर्णाली याक्सबीच खेल हुने तालिका छ।

प्रतिक्रिया लेख्नुहोस्