२०८० चैत्र १६, शुक्रबार

यमनमा नकाब लगाएका बन्दुकधारीद्वारा वरिष्ठ सैनिक कमाण्डरको गोली हानी हत्या

अज्ञात बन्दुकधारीहरूले उत्तरपूर्वी यमनको मारिबमा एक जनरलको गोली हानी हत्या गरेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अनतर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारप्रति वफादार जनरल उक्त घटनामा मारिएका हुन् ।

सरकारको नियन्त्रणमा रहेको प्रान्त मारिबमा नकाब लगाएका बन्दुकधारीहरूले आफ्नो स्वचालित राइफलबाट गोली हानेर जनरल मोहम्मद अल–जरादी र उनका अंगरक्षकको हत्या गरेका हुन् । अल–जरादी सहरमा आफ्नो कार्यबाट फर्कदै गर्दा बन्दुकधारीहरुले उनलाई बोकेको सैन्य गाडीमा बन्दुक प्रहार गरेका थिए । अल–जरादी साउदी अरब समर्थित यमनी सरकारी सेनाका एक वरिष्ठ कमाण्डर थिए । उनले व्यक्तिगत रूपमा विगतका वर्षहरुमा हुथी विद्रोहीविरुद्ध ठूलो मात्रामा सैन्य कारवाहीको नेतृत्व गर्दै आएका थिए । आक्रमणकारीहरु गोली चलाएर भाग्न सफल भएको बताइएको छ । स्थानीय सुरक्षाबलहरुले हत्याको अनुसन्धान सुरु गरिसकेका अधिकारीहरुले जानकारी दिएका छन् ।

तेलको धनी प्रान्त मारिबलाई कब्जामा लिनका लागि साउदी अरब समर्थित यमनी सरकारी सेना र हुथी विद्रोहीबीच बारम्बार भीषण लडाईहरु भइरहेका छन् । प्रायः शिया सम्प्रदाय मान्ने हुथी विद्रोही समूहले देशको उत्तरी भागमा आफ्नो नियन्त्रण कब्जा गरेसँगै सन् २०१४ मा गृहयुद्ध भड्किएको थियो । पछि हुथी विद्रोहीले राजधानी सानाबाट यमनी सरकारलाई पनि लखेटेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्