अमेरिकाले इराकबाट आफ्ना सबै सैनिक फिर्ता गरेको छ । यससँगै आतंकवादी संगठन इस्लामिक स्टेट (आइएसआइएस) विरुद्ध १२ वर्षदेखि जारी अमेरिकी नेतृत्वको सैन्य अभियान अन्त्य भएको छ ।
इराक र अमेरिकाबीच भएको सहमतिअनुसार सेप्टेम्बर ३० को समयसीमाभित्र अमेरिकी सेनाको अन्तिम टोली उत्तरी इराकको विमानस्थलबाट बाहिरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिर्तीलाई व्यवस्थित भन्दै अभियानलाई महँगो र कठिन भएको बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयका अनुसार अब अमेरिकी सेनाले आवश्यकताअनुसार इराकी सुरक्षा निकायलाई तालिम र गुप्तचर सहयोग भने जारी राख्नेछ ।
इराकी प्रधानमन्त्री अली अल–जैदीले अमेरिकी सेना फिर्तालाई इराकका लागि नयाँ चरणको सुरुवात भएको बताएका छन् । तर कुर्द क्षेत्रमा अमेरिकी सेना हटेपछि इस्लामिक स्टेट पुनः बलियो हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
अमेरिकी सेना यसअघि २०११ मा इराकबाट बाहिरिएको थियो । तर २०१४ मा इस्लामिक स्टेटले इराकको ठूलो भूभाग कब्जा गरेपछि अमेरिकी नेतृत्वको सैन्य अभियान पुनः सुरु भएको थियो । अमेरिका र इराकले २०२४ मा उक्त अभियान क्रमशः अन्त्य गर्ने सहमति गरेका थिए ।







प्रतिक्रिया लेख्नुहोस्