२०८३ कार्तिक ६, बिहिबार

धान काट्ने तयारीमा हुनुहुन्छ? अर्को साताको मौसम पूर्वानुमानमा ध्यान दिनुहोस् !

नेपालका धेरै क्षेत्रमा अर्को सातादेखि वर्षा हुने संकेत देखिएको मौसमविदले बताएका छन् । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले वर्षाको सम्भावना देखिएको हो ।

मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि करिब एक साताभन्दा लामो समयसम्म वर्षा हुन सक्ने सम्भावना देखाएका छन् ।

चारवटा मौसम पूर्वानुमान मोडेलको औसत पूर्वानुमान चित्र फेसबुकमा सार्वजनिक गर्दै उनले केही स्थानमा भारी वर्षासमेत हुने सक्ने संकेत देखिएको बताएका छन् ।

मौसमविद् पोखरेलले वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको पूर्वानुमान हेरेर योजना बनाउन सुझाव दिएका छन् ।

केही स्थानमा असिनासहित वर्षा हुन सक्ने सम्भावना पनि देखिएकाले किसानले थप सतर्कता अपनाउनुपर्ने मौसमविदको भनाइ छ ।

मौसम पूर्वानुमान अझै परिवर्तन हुन सक्ने भएकाले सम्भावित वर्षाको प्रभावबाट जोगिन किसान, यात्रु तथा सम्बन्धित क्षेत्रका नागरिकले पछिल्ला मौसम अपडेटमा ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया लेख्नुहोस्