२०८३ बैशाख १३, आइतवार

आजमतुल्लाह ओमरजाईको अलराउन्डर प्रदर्शनमा ललितपुर प्याट्रियट्सको पहिलो जित

आजमतुल्लाह ओमरजाईको अलराउन्डर प्रदर्शनमा ललितपुर प्याट्रियट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । ललितपुरले शुक्रबार भएको खेलमा विराटनगर वारियर्समाथि ३७ रनको सहज जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको २२७ रनको लक्ष्य विराटनगरले निर्धारित २० ओभरमा मात्र १८९ रन बनाउन सक्यो ।

विराटनगरका लागि दिल्सान मुनाविराले ५९ रनको अर्धशतकीय पारी खेले । ३९ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै विराटनगरका लागि आरिफ शेखले ३७ रन बनाउँदा चन्द्रपाउल हेमराजले २८ रनको योगदान गरे । बलिङतर्फ ललितपुरका लागि आजमतुल्लाह ओमरजाईले सार्वाधिक ४ विकेट लिए । ब्याटिङतर्फ ५८ रनको अर्धशतकीय पारी खेलेका उनले बलिङमा ४ विकेट लिन सफल भएका हुन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२६ रन बनाएको थियो ।

ललितपुरले बनाएको यो योगफल एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेट इतिहासकै सर्वाधिक हो । यसअघि, सन् २०१८ मा पोखरा राइनोजले भैरहवा ग्लाडियटर्सलाई २१५ रनको योगफल दिएको थियो । ललितपुरका लागि सान्दुनले सर्वाधिक ७३ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले १० चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, आजमतुल्लाह ओमरजाईले ५८ रनको अर्धशतकीय पारी खेले । २४ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे ।

ललितपुरका लागि कप्तान कुशल भुर्तेलले ३२ रन बनाउँदा योगेन्द्र कार्कीले २७ रनको योगदान गरे ।लिङतर्फ विराटनगरका लागि करण केसीले दुई विकेट लिए । सिकन्दर राजा, प्रतिस जिसी र दिल्सन मुनाविराले समान एक/एक विकेट लिए । प्रतियोगितामा पहिलो जित निकालेको ललितपुरले ४ खेलबाट ३ अंक जोडेको छ । ललितपुर तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया लेख्नुहोस्