नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसिसी) र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोग पारित गर्न आव्हान गर्ने निर्णय गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले एमसिसी र महाअभियोगलाई संसदबाट पास गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस सांसद डिला संग्रौलाले जानकारी दिएकी छन् ।
बैठकमा उपस्थित सबै सांसदले एमसिसी अगाडि बढाउनुपर्ने धारणा राखेको बताएका थिए। बैठकमा नेता रामशरण महतले एमसिसी देशको हितमा भएका कारण यसलाई कार्यान्वयन गर्नुपर्ने बताएका थिए। उनले करिब १ घन्टा एमसिसीका बारेमा सांसदहरूलाई बुझाएका थिए। बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए ।
उनले एमसीसीमा एमालेले दोहोर चरित्र देखिएको बताउँदै अरु कम्युनिस्टले पनि दोहोरो चरित्र देखाएको धारणा राखेको ती सांसदको भनाइ छ । यद्यपि यसमा सरकारले मनाउन पहल गर्ने देउवाको भनाइ छ । यस्तै प्रधानन्यायाधीश विरुद्धको महाभियोग पास गर्नका लागि पनि छलफल र परामर्श अघि बढाइने देउवाले बैठकमा बताएका थिए ।
यसैबीच प्रधानमन्त्री देउवाले काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत आग्रह गरेका थिए । कार्यव्यवस्था समितिको बैठकबाट एमसीसी टेबल गर्ने एजेण्डा बनाउन देउवाको आग्रह छ । संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।







प्रतिक्रिया लेख्नुहोस्